धनगढी : धनगढी विमानस्थलबाट परपुरूषसँग भाग्दै गरेको अवस्थामा कैलालीकि एक महिला पक्राउ परेकी छन् । लम्कीचुहा नगरपालिका-८ बस्ने अन्दाजी ३५ वर्षीया महिला धनगढी विमानस्थलबाट वैदेशिक रोजगारीका लागि दुबईमा बस्दै आएका परपुरूषसँग काठमाडौं उड्ने क्रममा पक्राउ परेकी हुन् ।
उनी श्रीएयरलाइन्सको दिउँसो १ बजेर ५ मिनेटको फ्लाइटमा उड्ने तयारीमा थिइन् । तर बोडिङ पास बनाउने क्रममा शंकास्पद गतिविधि देखाएपछि सोधपुछ गर्दा महिला अर्कै पुरूषसँग काठमाडौं गइरहेको खुलेको प्रहरीले जनाएको छ ।
उनलाई काठमाडौं लगिरहेको अवस्थामा सुनसरी घर भएर हाल दुबईमा रोजगारी गर्दै आएका अन्दाजी ३५ वर्षकै सुलेमान मनसुरीलाई पनि धनगढी विमानस्थलबाटै पक्राउ गरिएको छ । प्रहरी स्रोतकाअनुसार उनी महिलालाई लैजाने दुबईबाट शुक्रबार नै आएका थिए ।
आफ्नो घर समेत नगएर सोझै धनगढी आएका थिए । उनीसँग भाग्दै गरेका महिलाका ८ र ११ वर्षका दुई छोरा रहेका छन्। पक्राउ परेका दुवैलाई अहिले जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेलमा राखेर अनुसन्धान भइरहेको छ ।