बझाङ, ३ भदौ : बझाङको बुङ्गल नगरपालिका–१० स्थित टुमेडामा पहिरोले एक घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।
आईतबार राति १ बजे एक्कासी घरमाथिबाट गएको पहिरोमा परि बेपत्ता भएका उनीहरुको सोमबार बिहान साढे ७ बजे शव निकालिएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा ५५ वर्षकी काली धामी, २५ वर्षकी गोल्की धामी, ६ वर्षकी आकृति धामी, र ३ वर्षकी लक्ष्मी धामी रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक डिल्लीराज विष्टले जानकारी दिए । ९ जना सदस्य रहेको उक्त घरमाथि राति १ बजे खसेको पहिरोले घर क्षतविक्षत बनाएको छ ।
पहिरो जानेबित्तिकै गाउँलेको प्रयासले घरमुली ६२ वीरबहादुर धामी, १६ वर्षीया कमला धामी, वर्ष ३० को उज्जवल धामी, १० वर्षीय रोशन धामी, २० वर्षीया शान्ती धामी र पाहुना सोही नगरपालिका–९ बस्ने वर्ष ७१ को अम्बादत्त जोशीको सकुशल उद्धार गरिएको थियो । पहिरोले घर पूर्ण रुपमा बगाएको छ । उक्त घरमा रहेका ५ वटा बाख्रा पनि बगाएको प्रहरीले जनाएको छ ।