अत्तरिया : तराईका जिल्लामा चुनौती बन्दै गएको छाडा पशु चौपायाको व्यवस्थापनका लागि गोदावरी नगरपालिकाले सोमबारबाट आफ्नै गौशालामा गाईबस्तु राख्न सुरु गरेको छ ।
वडा न ७ को गोलादेवि सामुदायिक वनको बिचमा रहेको मन्दिर परिसरमा व्यवस्थित रुपमा गौशाला निर्माण पश्चात आज श्री कृष्णजन्माष्ठमीको अबसरमा गौशाला र गाईको पूजाआजा गरी बिधिबत रुपमा उद्घाटन गरिएको हो । गोदावरी नगरपालिका भित्र छाडा पशु चौपायाहरुलाई ब्यावस्थापनका लागि गोदावरी नगरपालिका र प्रदेश सरकारको आर्थिक सहयोगमा पशु चौंपायाँहरुलाई गाँस बास सँगै स्याहार सुहारको लागि गौशाला निर्मांण गरेको नगर प्रमुख बिरेन्द्र भट्टले बताए ।
छाडा पशु चौपायाका कारण सडक दुर्घटना, कृषकको बालीनालीको क्षति र मरेका पशुका कारण दुर्गन्ध फैलिने जस्ता समस्या स्थानीयले वर्षौँ देखि भोग्दै आएका छन । सुदूरपश्चिमको प्रदेश राजधानीको रुपमा चिनिएको गोदावरी नगरपालिकाले प्रदेश सँग सहकार्य गर्दै व्यवस्थित गौशाला निर्माण गरिएको हो । गौशाला निर्माणको पहिलो संरचना रहेको क्रमिक रुपमा अन्य संरचना तथा गाईबस्तुहरुलाई क्रमिक रुपमा व्यावस्थापन गर्दै जाने दिर्घकालिन योजना रहेको नगर प्रमुख भट्टले बताए ।
किसानलाई मलको अभाव खड्किरहेको सन्दर्भमा गौशालाले मलमुत्रको अभाव पूर्ति गर्न समेत योगदान गर्ने मेयर भट्टले बताए । ‘यस ठाउँमा गौशाला निर्माण गर्नुपर्छ भन्दै हामी सँग सहजीकरण गर्ने योगी पिताम्बर ज्यू ले पनि यस ठाउँमा गाईबस्तुलाई व्यावस्थापनमा साथ दिने बताएका छन । भने आज उहाँकै सहकर्मी योगी यज्ञराज कडेलको उपस्थितिमा हामीले यस ठाउँमा गाई ब्यावस्थापनका लागि काम अगाडि बढाएको हो ’ उनले भने ।
छाडा गाई व्यवस्थापनका लागि नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता सहित पालिकाको सीमित बजेट हुने भएकोले एकैपटक धेरै रकम विनियोजन हुन नसकेपनि क्रमशः सहयोग गर्दै जाने उनले बताए । गाई राष्ट्रिय जनावर पनि रहेको र हामी सवै हिन्दुहरुका जन्मदेखि मृत्युपर्यन्तका विभिन्न देव कार्य र पितृकार्यमा पवित्र मानिने भएकोले गाईको उचित संरक्षण र व्यवस्थापनमा सवैको सहयोग हुनुपर्ने बताए । गौशाला व्यवस्थापन बाट सोचे भन्दा राम्रो आम्दानी गर्न सकिने बताए । गाई गोरुको संरक्षणको साथै मल मुत्र प्रयोग गरी अगरबत्ती, किटनाशक औषधि लगायतमा उपयोग गर्न गर्न सके गौशालाको आयस्रोत बढ्ने र रोजगारी सिर्जना हुने उनले बताए ।
‘गाई राष्ट्रिय जनावर हो । हिन्दू परम्परा अनुसार गाईलाई पुज्ने समेत गरिन्छ तर, पछिल्लो समय यही गाई हेला बनेको देख्दा अचम्मित हुने गरेका छु’, उनले भने ‘गाई संरक्षण गर्नुपर्छ भन्ने धारणा सबैमा विकास गर्न र गौशालालाई व्यवस्थित गर्न हामीले ढिलै भए पनि गौशालाको निर्माण गरेको हो । गौशाला निर्माण गरेर गाईको संरक्षणसँगै गाईको मल, मुत्रलाई औषधीको रुपमा प्रयोग गर्न गर्न सके गौशाला ब्यवस्थापनमा कुनै समस्या नहुने र रोजगारीको अवसर सिर्जना हुने छ ।’
उद्घाटन कार्यक्रममा योगी यज्ञराज कडेलले गाई संरक्षण केन्द्रलाई राम्रो तरिकाले व्यवस्थापन गर्दै यसलाई रोजगारसँग जोड्ने योजनाका साथ अघि बढेको बताए । गाईको संरक्षणसँगै गाईको मल, मुत्रलाई औषधी, धुपबत्तीको रुपमा प्रयोग गर्ने तर्फ आफ्नो ध्यान केन्द्रित भएको बताउदै गाईको महत्व बारेमा सबैलाई बुझाउ आवश्यक रहेको जनाए । गाईको मल मुत्र र दुध सबै लाई उपयोग गर्ने र गोदावरीमा नमुना गौशाला छ भन्ने सन्देश सबैलाई दिन खोजेको उनले बताए ।
सम्बन्धित पाेस्टहरु