बाजुरा : बाजुरा हिमाली गाउँपालिका–६ बोल्डीक बस्ने प्रेमलाल पाध्याय उमेरले ३५ वर्ष पुगे । सानै उमेरमा विवाह गरेका प्रेमलालका २ छोरा र श्रीमती गरेर ४ जनाको परिवार छ । उनका जेठा छोरा १० कक्षामा र कान्छा छोरा ४ कक्षामा अध्ययनरत छन् । साधारण शिक्षामा कक्षा १२ पास गरेका उनलाई रोजगारी पाउन सहज थिएन । सानैमा पारिवारिक जिम्मेवारी सम्हालेका प्रेमलाल आफ्ना छोराहरु पढाउन र आफ्नो घरखर्च धान्नका लागि दैनिक ज्याला मजदुरीको कामका लागि भौतारिन्थेँ । गाउँघरमा भनेको जस्तो काम नपाइने र पाइए पनि समयमा पारिश्रमिक नदिने प्रचलनका कारण उनको ज्याला मजदुरीको कामबाट पनि दिक्क भएका थिए ।
त्यही समयमा हिमाली गाउँपालिकाले जलवायु अनुकुलन कृषि खेती सम्बन्धी पालिकाको कृषि उत्थानका लागि काम गर्न थाल्यो । प्रेमलालको गाउँ हिमाली गाउँपालिका वडा नं ६ बोल्डीकमा पनि चण्डिका कृषक समुह गठन भयो । समुहमा १९ जना सदस्य छन् । प्रेमलाल पनि त्यसै समुहका पुरुष सदस्य बने । समुह गठनपछि पालिकाले जलवायु अनुकलन खेती गरी गाँउको कृषि उत्थानका लागि गर्ने कामका विषयमा जानकारी गराई व्यवसायिक तरकारी खेती गर्ने इच्छुक किसानलाई तालिम प्रदान गरी, कृषि प्रविधि समेत उपलब्ध गर्ने जानकारी गरायो ।
प्रेमलालले आफु तरकारीखेती व्यवसाय गर्न इच्छुक भएको तर आर्थिक अवस्था कमजोर भएका कारण लगानी र कृषि प्रविधिको अभावले गर्न नसकेको बताउँदै आफुलाई तालिममा सहभागि गराउन आग्रह गरे । सोही अनुसार हिमाली गाउँपालिकाको कृषि विकास शाखाको सहयोगमा प्रेमलालले टर्नेलमा तरकारी खेती गर्ने तरिका र व्यवसायिक कृषि खेतीका बारेमा २ दिने तालिम प्रदान गरियो ।
तालिमप्राप्त गरिसकेपछि थप हौसला बोकेर प्रेमालालले ४ रोपनी जग्गामा तरकारी खेती सुरु गरे । उनले तरकारी खेती सुरु गरेपछि पालिकाले कृषि प्राविधिक परामर्श, टर्नेल प्लाष्टिक, थोपा सिँचाई, आवश्यक बिउ, हजारी, झोल मलका लागि ड्रम, पाइप, किरा मार्ने स्प्रे, पाशा, गुमोज प्लाष्टिक सहयोग गरेको प्रेमलालले बताए । २ हजार लगानी गरेर तरकारी खेती व्यवसाय सुरु गरेका प्रमेलालले अहिले महिनाको ८ देखि १० हजारसम्म न्युनतम कमाई गरिराखेका छन् । टमाटर, काउली, बन्दा खेतीको सिजनमा त बढी पनि कमाईहुने गरेको छ ।
तरकारी खेतीलाई थप आधुनिक तथा उत्पादिनशिल बनाउनका लागि प्रेमलालले कृषि विकास शाखाको प्राविधिक सल्लाहमा गड्यौला मलको लागि भर्मी पिड (गड्यौला राखेर मल बनाउने स्थान) बनाएको छ । गड्यौला राख्नका लागि सिमेन्टको पिड निर्माण गरी नेपालगन्जबाट गड्यौला खरिद गरेर ल्याएर गड्यौला मल उत्पादन गरी बनेको मल तरकारी खेतीमा प्रयोग गरिरहेका छन । गड्यौला मलको प्रयोगले उत्पादनमा दोब्बर वृद्धि भएको उनको अनुभव छ ।
महादत्त जोशी स्वामिकार्तिक गाउँपालिकाको वडा नं ४ वाईका स्थायी बासिन्दा हुन । सानैदेखि तरकारीखेती व्यवसायमा लागेर उमेरले ६० कटेका महादत्तको अहिले पनि पौरख भने कम्तीको छैन । अहिले महादत्तले सिजन अनुसार गोलभेडा, सिमी, काउली, बन्दा, खुर्सानी, करेला लगायत तरकारी फलाएर मासिक ५ देखि ८ हजारसम्म निरन्तर कमाई राखेका छन ।
तरकारी खेतीलाई व्यवसाय बनाएका महादत्तले खेतीलाई थप आधुनिक तथा उत्पादिनशिल बनाउनका मलको लागि भर्मी पिड (गड्यौला राखेर मल बनाउने स्थान) निर्माण गरेर जिल्ला बाहिरबाट गड्यौला खरिद गरेर मल उत्पादन गरी प्रयोग गरिराखेका छन् । गड्यौला मलको प्रयोग गर्दा कल पनि कम लाग्ने र उत्पादनमा पनि सोचेभन्दा पनि धेरै वृद्धि भैरहेको उनको अनुभव छ ।
उत्पादनलाई आधुनिकतासंग जोडेर व्यवसायमा सरलता ल्याउनका लागि हिमाली गाउँपालिका वडा नं ७ को “बाँधु” गाँउमा पनि गाउँपालिकाको कृषि शाखाले परीक्षणका लागि गड्यौला मलको पिड निर्माण गर्न लगाएको छ । करिब ९ सय बढी जनसंख्या रहेको उक्त गाउँमा १ सय ८९ घरधुरी छन् । आधुनिक प्रविधिको माटो सुहाँउदो खेती परीक्षणका लागि हिमाली गाउँपालिका र कृषि ज्ञान केन्द्र बाजुराको सहकार्यमा बाँधुमा १० वटा गड्यौला मल छाप्रो निर्माण गरी जिल्ला बाहिरबाट गड्यौला मल खरिद गरेर ल्याएर गड्यौलाबाट बनेको मल तरकारी व्यवसायमा प्रयोग भैरहेको छ । गड्यौला मलको प्रयोगले कृषि व्यवसायमा सहजता आएको र उत्पादनमा पनि वृद्धि भएको बाँधुका महिला कृषक धनु पण्डितको भनाई छ । अन्य सामान्य मल प्रयोग गर्दा धेरै मात्रामा प्रयोग गर्नुपर्ने, उत्पादन कम हुने हुन्थ्यो भने गड्यौला मल थोरै मात्रामा प्रयोग गरेपनि उत्पादन बढेको महिला कृषक पण्डितको अनुभव छ ।
बाजुराका कृषकले धेरै कुराको अभावका कारण परम्परागत रुपमा खेती तथा व्यवसाय गरिरहेको र जसका कारण उत्पादन कम तथा श्रम बढी खर्च हुने गरेको छ । जिल्लाई बिस्तारै आधुनिक कृषि खेतीसंग जोड्नका लागि कृषि ज्ञानकेन्द्र बाजुराले विभिन्न किसिमका प्रयास गरेको जसको एउटा उदाहरण गड्यौला मलको उत्पादन र प्रयोग भएको कृषि ज्ञानकेन्द्र बाजुराका प्रमुख भुमिराज उपाध्यायले बताए । गड्यौला मलको उत्पादन र प्रयोग अहिले परीक्षणका लागि जिल्लाका केही स्थानमा सुरु गरेको र बिस्तारै जिल्लाभरी नै यसको बिस्तार गर्ने योजना रहेको कृषि ज्ञानकेन्द्र बाजुराका प्रमुख उपाध्यायको भनाई छ ।