विपद् जोखिम क्षेत्रमा सुरक्षित रहने तरिका सिकाउँदै रेडक्रस

बाजुरा, १७ मंसिर : नेपाल रेडक्रस सोसाईटीले बाजुरा र अछामका विपद् जोखिम क्षेत्रमा सचेतनाका कामहरु गरिरहेको छ । बाजुराको खप्तड छेडेदह गाउँपालिका, बुढीगंगा नगरपालिका र अछामको मेल्लेख गाउँपालिका र साफेँनगरका वडाको विपद्को जोखिम वडामा रेडक्रसले काम गरिरहेको हो ।
दुर्गम वडाहरुमा रेडक्रस सोसाईटीले नागरिकहरुलाई विपद्मा कसरी सुरक्षित रहने बन्ने विषयमा नागरिकहरुलाई जागुरुक गराईरहेको छ । वडामा विपद् व्यवस्थापन समिति गठन गरिएका छन् । ती समितिका व्यक्तिहरुलाई तालिम दिएर समुदाय र विद्यालयमा विपद्मा कसरी बच्ने भन्ने विषयमा सचेत गराईरहेको हो । सुरक्षित नेपाल परियोजना मार्फत रेडक्रस नेपाल काम गरिरहेको छ ।

रेडक्रस सुदूरपश्चिम प्रदेशका खोज तथा उद्धार तालिम अधिकृत सन्तोष ढकालका अनुसार बाजुराको बुढीगंगा नगरपालिकाको वडा नम्बर १०, २ र खप्तड छेडेदह गाउँपालिकाको वडा नम्बर ४, ५ र ६ वडामा सुरक्षित नेपाल परियोजना मार्फत विपद् र विपन्न नागरिकहरुको आयआर्जमा काम भईरहेको छ । यस्तै गरी साँफेनगरको ९, १४ वडा र मेल्लेख गाउँपालिकाको ४, ५, ७ वडामा परियोजनाले काम गरिरहेको हो । यस परियोजनालाई सफल पार्नका लागि स्थानीय तहहरुले पनि साथ दिईरहेका छन् । बुढीगंगा नगरपालिका वडा नम्बर १० मा रहेको मष्टामाण्डौँ सामुदायिक विपद् व्यवस्थापन समितिका संयोजक मोहनबहादुर बुढाले रेडक्रसको परियोजनाले गर्दा स्थानीयहरु विपद्का बारेमा सचेत रहने गरेको बताए । ‘ रेडक्रसले ५० हजार रुपैयाँको कोष खडा गरिदिएको छ । त्यसमा नागरिकहरुले समेत आफ्नो तर्फबाट केहि रकम जम्मा गरेका छन् ।’, उनले भने ‘त्यसले गर्दा गाउँमा केहि विपद् आएमा त्यसकोषबाट सानो रकम भए पनि सहयोग गर्ने गरेका छौँ ।’ रेडक्रस नेपालको दुई बर्षीय सुरक्षित नेपाल परियोजना लागूभएपछि पहिरोको जोखिम रहेको क्षेत्रको पहिचान गरिएको उनले बताए । गाउँ घरमा आगलागि भएमा समेत विपद् व्यवस्थापन समितिका व्यक्तिहरु नै अगाडि पुग्ने गरेको उनले सुनाए । ‘भौगोलिक कठिनाइका कारण वस्तीहरु टाढाटाढा छन् । राज्यको त्यहाँ उपस्थिति हुन समय लाग्छ । त्यसले गर्दा आगलागि भएको क्षेत्रमा सबै भन्दा पहिले पुग्ने हामी नै हौँ’, रेडक्रस सुदूरपश्चिम प्रदेशका अनुगमन समितिसंग उनले भने । ‘परियोजना र स्थानीय सरकारले सहयोग गर्न आवश्यक छ ।’

रेडक्रसले विद्यार्थीहरुलाई समेत विपद् अघि र पछि कसरी बच्ने भन्ने विषयमा जानकारी दिईरहेको हो । बाजुरा खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ४ मा रहेको खापरदेवस्थली माध्यामिक विद्यालय अन्र्तगतको विपद् व्यवस्थापन समितिको अध्यक्ष आरती धामीले विपद् प्रतिकार्य दल गठन गरेर विद्यालय तथा समुदायमा समेत जनचेतनाका कार्यक्रम गरीरहेको बताईन् । उद्धार सामग्रीहरु भएको हुँदा अभ्यास गर्न सहज भएको उनले सुनाईन् । अहिले रेडक्रसको कार्यक्रमले गर्दा गाउँ घरमा स–सानो चोट पटक लाग्दा सहज हुने गरेको उनले बताईन् । रेडक्रसका कार्यक्रम जनप्रतिनिधिहरुले समेत साथ सहयोग गरिरहेका छन् । रेडक्रसले विद्यालय र पालिकाहरु उद्धार सामग्रीहरु समेत सहयोग गरेको छ ।
खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दलबहादुर धामीले विपद्मा पहिलो उपस्थिति रेडक्रसको हुने हुँदा अहिलेको परियोजनाले गर्दा नागरिकहरुमा सकारात्मक सन्देश प्रवाह भएको बताए । उनले परियोजनालाई सफल पार्न वडा देखि पालिकाहरुले सक्ने प्रयास गरिरहेको बताए ।
बस्तीहरु जोखिममा रहेको क्षेत्रमा परियोजनाले काम गरिरहरेको बाजुरा सुरक्षित परियोजना अधिकृत रविन ढकालले बताए । ‘विपद् व्यवस्थापन समिति गठन गरेका छन्’, उनले भने । ‘यसले गर्दा गाउँ घरमा कुनै खालको घट्ना घटिहालेमा सहज हुने अपेक्षा गरिएको छ ।’ यहाँ मौसमी बसाईसराईले गर्दा काम गर्न उत्तिकै चुनौती रहेको उनले बताए । ‘कुनै एक बस्तीमा समिति गठन गर्नुपर्छ । अर्को पटक त्यहाँजादा समितिका मान्छेहरु हुँदैनन । भारत पुगिसकेका हुन्छन ।’, उनले भने । ‘यसले गर्दा काम गर्न चुनौती पनि उत्तिकै रहेको छ ।’
अछाम मेल्लेख गाउँपालिका–७ नन्देगडामा रहेको दुर्गा प्राविधिक शिक्षालयका प्रधानाध्यापक कृष्णबहादुर विकले समुदायस्तरमा नागरिकहरुलाई विपद्का बारेमा सचेत गराएको बताए । ‘दुर्गम वडा हो । नागरिकहरुहरुको प्राय समय काममा बढी व्यस्त हुन्छन् । उनीहरुलाई विपद् भनेको केहि थाह नै छैन् । अहिले विद्यालय लगायत समुदायमा विपद् सम्बन्धि सडक नाटक देखि जनचेतनाका कार्यक्रम समय–समयमा भईरहेका छन’, उनले भने ‘यसले नागरिहरु सचेत हुन पक्कै पनि सहयोग पुग्छ ।’ विद्यालयमा विद्यार्थीहरु जुनियर रेडक्रस गठन गरी विपद्मा कसरी बच्ने भन्ने बारे महिना–महिना सचेतनाका कार्यक्रमहरु सञ्चालन गरिरहेको उनले बताए । सुरक्षित परियोजना अन्र्तगत साँफे र मेल्लेखका गरी एक हजार ६ सय तीन घरधुरीका १० हजार ७ सय ४८ जनसंख्या लाभावित हुनेछन् ।

विपद्मा आईपर्ने समस्यालाई लियर विपद् कोष समेत खडा गरेको छन् । समितिको खाता सञ्चालन गरी ५० हजारका दरले कोष बनाएको सुरक्षित परियोजनाको विपद् जोखिम न्यूनीकरण अधिकृत कमला राईले जानकारी दिईन् । विपद् व्यवस्थापन समितिले नियमित बैठक बसेर प्राथमिक उपचार तालिम समेत लिने गेको उनले बताईन् । गाउँमा सम्भावित विपद्लाई लिएर नेपाल रेडक्रसले दुई पालिकामा १७ वटा खोज तथा उद्धार सामग्री समेत वितरण गरिसकेको छ । वडाहरुमा जोखिम क्षेत्र पहिचान गरेको छ । समुदायमा विपद् व्यवस्थापन कार्यलयहरु समेत स्थापना गरिएको परियोजनाले जनाएको छ । सबैजसो कार्यलयहरु सामुदायिक कार्यालयहरुमा रहेका छन् । यस परियोजनाले स्थानीय तथा र समुदायमा विपद्का बारेमा अपनत्व गराएको राईको भनाई रहेको छ । विपद् व्यवस्थापन समितिले कार्यलयहरुमा गुनासो बक्स राखेको छ । गुनासोहरुलाई बैठक बसेर सम्बोधन गर्ने गरेको उनको भनाई रहेको छ । केहि जोखिम क्षेत्रमा नेपियर र अम्लोसो घाँस रोपी पहिरो नियन्त्रणका लागि वृक्षारोपण गरिएको जनाएको छ ।

परियोजना अन्र्तगत विपद्मा अतिआवश्यक पर्ने झटपट झोला समेत वितरण गर्ने योजान रहेको नेपाल रेडक्रस सोसाईटी प्रदेशस्तरिय अनुगमन टिमलाई परियोजना अधिकृत राईले सुनाईन् । रेडक्रसको परियोजानले गर्दा विद्यालयमा जुनियर रेडक्रस गठन गरी प्राकृतिक विपद् अघि र पछि हुने सम्भावित क्षतिका बारेमा विद्यार्थी र समुदायमा जानकारी भएको दुर्गादेवी प्राविधिक शिक्षालयको जुनियर शिक्षालयको जुनियर रेडक्रसको सदस्य जानकी बुढाले बताइन् । ‘रेडक्रसका बारेमा कितावमा त अध्ययन गरेको हो । तर, यसको काम र कतव्र्यका बारेमा सबै जानकारी थिएन’, उनले भनिन् । ‘अहिले जुनियर रेडक्रसले गर्दा नै विद्यालयका सबै विद्यार्थीहरुलाई जानकारी भएको छ ।’ अहिले सुरक्षित परियोजनाले गर्दा विद्यालयमा समेत विपद् अनुसार सुरक्षित क्षेत्र समेत पहिचान भएको उनले बताईन् ।
वडामा रहेका विपन्न नागरिकहरुलाई केहि भए पनि राहत हो भन्ने उदेश्यका साथ आयआर्जनका कार्यक्रमहरु समेत सञ्चालन गरेको छ । नन्देगडा सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष नृपबहादुर बुढाले विपद् सामग्रीहरु प्राप्त भएको बताए । उनले भूगोलको आधारमा बढी स्ट्चरको बढी आवश्यकता रहेको औल्याए । तालिम लिएको व्यक्तिहरुलाई टिकाई राख्न समेत समस्या रहेको रेडक्रस प्रदेशले गरेको अनुगमका क्रममा उनले उनले उल्लेख गरे ।

विपद्मा रेडक्रसको सदासर्वदा लागिरहेको स्मरण गर्दै मेल्लेख गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष प्रेमबहादुर महरले परियोजनासंग समन्वय गर्न तयार भएको बताए । ‘विपद् सबैलाई आवश्यक पर्छ’, उनले भने । ‘त्यसले गर्दा वडामा आउने बजेट लगानी गर्न तत्पर छौँ ।’
सरकारले गर्नुपर्ने काममा रेडक्रसले गरेको छ त्यसका लागि पालिका जहिले पनि सहकार्य र समन्वय गर्न तत्पर रहेको मेल्लेख गाउँपालिका कार्यवाहक अध्यक्ष समेत रहेका वडा नम्बर ५ का वडा अध्यक्ष प्रकाश अधिकारीले बताए । उनले विपद् व्यवस्थापन कोषलाई कुनै एक क्षेत्र मात्र भन्दा पनि वडालाई नै समेट्न सुझाव दिए ।
रेडक्रसको केन्द्रिय उपाध्यक्ष सुरेन्द्र ऐरको नेतृत्वमा परियोजनाको अनुगमन तथा निरीक्षण गर्न अछाम र बाजुरा पुगेको हो । रेडक्रसका केन्द्रिय सदस्य लक्षीराम कुँवर, प्रदेशका अध्यक्ष दिलबहादुर बुढा, कोषाध्याक्ष मोतीराज उपाध्याय, पत्रकार लगायत टिमले अनुगमन गरेको छ ।
अनुगमनका क्रममा केन्द्रिय उपाध्यक्ष सुरेन्द्र ऐरले रेडक्रस सामाजिक संस्था भएको हुँदा यसमा नागरिकहरुको स्वस्र्फुत रुपमा सेवाको भावना जाग्न सकेमा मात्र परियोजना सफल हुने बताए । ‘भौगोलिक तथा आर्थिक कठाइनाईले गर्दा केहि समस्या छन् । त्यस विषयमा आगामि दिनमा छलफल हुन्छ ।’ अर्को कुरा रेडक्रस कर्मीले गाउँघरमा कसैलाई लागेको चोट पटकको प्राथमिक उपचारले उपचारमा सहज हुने विश्वास व्यक्त गरे । उनले विपद्जन्य घटनाबाट स्थानीय सरकारको पनि अपनत्व हुन आवश्यक रहेको औल्याए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.