धनगढी : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पश्चिमसेती र माथिल्लो कर्णाली जलविद्युत आयोजना बनेमा सुदूरपश्चिमको मात्र नभइ मुलुककै कायापलट हुने बताएका छन ।
शनिबारबाट धनगढीमा सुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएको हो । यी दुई ठुला आयोजनाले आर्थिक रुपमा उच्च ‘भाइब्रेन्ट’ हुने भएकाले सरकारले अगाडि बढाएको उनको भनाइ छ ।
मन्त्री भण्डारीले सुरुमा ७५० मेगावाटको अध्ययन भएको पश्चिमसेती जलविद्युत आयोजनालाई ८०० मेगावाटको बनाउन सकिनेगरी पछिल्लो पटक अध्ययन भएको बताए । पश्चिमसेती जलविद्युत आयोजनालाई बनाउनका लागि भारतीय कम्पनीसँग सम्झौता भइ विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) समेत तयार भएको मन्त्रीको भनाइ थियो ।
उनले पश्चिमसेती जलविद्युत आयोजनालाई केही समयपछि कार्यान्वयन गर्नेगरी प्रस्ताव लगानी बोर्डबाट स्वीकृत भएको जानकारी दिए । यसैगरी, अछाममा माथिल्लो कर्णाली निर्माणका लागि लागत स्टिमेट स्वीकृत गरी यसलाई अगाडि बढाउने निर्णय भइसकेको मन्त्री भण्डारीले बताए ।
उनले स्वदेशी तथा विदेशी लगानीकर्तालाई यथेष्ट लगानीको वातावरण दिन सरकार प्रतिवद्ध रहेको बताए । त्यसको लागि आवश्यक नीतिगत सुधार गरिने उनले उल्लेख गरे । पछिल्लो पटक नेपालमा विदेशी लगानी बढेको मन्त्रीको भनाइ थियो ।
उनले युवा विदेशिनेक्रम निराशा मात्र नभइ आशा पनि रहेको बताए । रहरले मात्र नभइ सम्भावनाले पनि युवा विदेश गइरहेको उल्लेख गर मन्त्री भण्डारीले थपे, “हामीले निराशाको गीत मात्रै गाएर हुँदैन, आशा र सम्भावनाको पनि कुरा गर्नुपर्दछ । नेपालमा सम्भावना नभएर सबै युवा विदेशिए भन्यौं भने यो एउटा गलत भाष्य हुनेछ ।”
आर्थिक वृद्धिदर उच्च रहेका दुई छिमेकीबाट नेपालले लाभ लिन सक्नुपर्ने उजको जोड थियो । अहिलेको निराशालाई आशा र सम्भावनामा बदल्ने सरकारले संकल्प लिएको मन्त्रीले उल्लेख गरे । उद्यमशिलता र व्यापार वृद्धि आजको अहम विषय रहेको उनको भनाइ थियो ।
महोत्सव उद्घाटनको क्रममा सुदूरपश्चिमको विकासको सवालमा पूरा हुन बाँकी १० बुँदा माग बराबर १० किलोको फूलको माला मन्त्री भण्डारीलाई लगाइएको थियो । यसैगरी, विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । महोत्सव उद्घाटन अवसरमा विभिन्न समुदायको कला, संस्कृति झल्किने साँस्कृति झाँकी पनि प्रस्तुत गरिएको थियो । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको १८ औं संस्करणको सुदूरपश्चिम महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ ।