अत्तरिया : सुदूरपश्चिमको भ्रमणमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालालाई धनगढीमा १५ किलोको माला लगाएर स्वागत गरिएको छ ।
नेता कोइरालालाई आगामी १५ औँ महाधिवेशनमा सभापतिका लागि अग्रिम शुभकामना स्वरुप १५ किलोको माला लगाइएको हो । नेता कोइरालालाई धनगढी विमानस्थलमा बाजागाजासहित भव्य स्वागत गरिएको थियो । कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालालाई धनगढी विमानस्थलमा डडेल्धुराका नेता युवराज पाण्डेसहितका डडेलधुरा कांग्रेसको तर्फबाट १५ किलोको माला लगाएको हो । १५ औँ महाधिवेशनका लागि शुभकामना दिँदै नेता कार्यकर्ताले कोइरालाको पक्षमा नारा समेत लगाएका थिए ।
स्वागतका लागि थारु संस्कृति झल्कने पहिरनसहित नृत्य गरिएको थियो । स्वागत गर्ने क्रममा सुदूरपश्चिमको हुड्केली नाच पनि प्रदर्शन गरिएको थियो । नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको गृह प्रदेशमा कोइरालालाई गरिएको भव्य स्वागतले पार्टीभित्र नयाँ तरङ्ग पैदा गराएको छ ।
सुदूरपश्चिम कांग्रेसी नेता तथा कार्यकर्ताहरू पार्टीभित्र नयाँ नेतृत्व आवश्यकता रहेकाले डा।कोइरालाको भ्रमण सान्दर्भिक भएको कांग्रेस बझाङ जिल्ला कार्यसमिति सदस्य महेशबहादुर मल्लले बताए ।