अत्तरिया : गोदावरी नगरपालिका वडा नं १ बसन्तपुरमा रहेको सीवाईसी अत्तरिया स्कूल अफ क्रिकेट एकेडेमीले नयाँ विद्यार्थीको लागि भर्ना प्रक्रिया शुरू गरेको छ । एकेडेमीको निर्माण कार्य सम्पन्न भएसँगै क्रिकेट प्रेमीहरूलाई लक्षित गरी एकेडेमीले उच्चस्तरीय प्रशिक्षण प्रदान गर्ने उद्देश्यका साथ बुधबार देखि भर्ना खुला गरी क्रिकेट कक्षा सञ्चालन गरेको हो ।
एकेडेमीको औपचारिक उद्घाटन केही दिनभित्र भव्यताका साथ हुने संचालक तथा प्रशिक्षक रजत शाहीले जानकारी दिए । उनले उद्घाटन समारोहमा स्थानीय खेलकुद क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहने अपेक्षा गरिएको बताए । एकेडेमीमा प्रशिक्षणको लागि रजत शाही र खगेन्द्र जोशी र अबिशेक कोइराला मुख्य प्रशिक्षकको रूपमा रहेको बताए ।
शाहीले स्थानीय युवाहरूलाई क्रिकेट कौशलमा निखार ल्याउन एकेडेमी प्रभावकारी प्लेटफर्म बन्ने विश्वास रहेको बताए । क्रिकेट खेलमा रुचि राख्ने खेलाडीहरूलाई आधुनिक सुविधा सहितको प्रशिक्षण प्रदान गर्ने लक्ष्य एकेडेमीले राखेको छ । ‘स्थानीय प्रतिभालाई सही मार्गदर्शन र प्रशिक्षण दिन सके उनीहरूको भविष्य उज्ज्वल बनाउन सकिन्छ’ उनले भने ।
क्रिकेट खेललाई स्थानीयस्तरमा विस्तार गर्न साथै उक्त स्तर बाटै खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन केन्द्रित हुने योजना बनाएको समेत बताए । संचालक तथा प्रशिक्षक शाही प्रशिक्षण र व्यवस्थापनमा लामो अनुभव रहेका छन् ।
सम्बन्धित पाेस्टहरु