धनगढी : नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनले बर्तमान सरकारले अध्यादेशबाट शासन चलाउन खोजिरहेको बताएका छन् ।
बुधबार प्रेस सेन्टर नेपाल, कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उपमहासचिव पुनले प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेशबाट कानुन बनाउने तर्फ उद्धत रहेको आरोप लगाए । उनले भने ‘कानुन बनाउने संस्था संसद हो । ससंदबाट कानुन बनाउनु पर्ने हो । अहिलेको सरकार कार्यपालिकाबाट कानुन बनाउन खोज्दैछ यो गलत हो ।’
उनले भने “प्रधानमन्त्री ओलीले बिगतकै गलत अभ्यास दोह¥याउ खोज्दै हुनुहुन्छ, उहाँ अध्यादेशबाट कानुन बनाउने र विस्तारै संसदको विकल्प खोज्नेतर्फ उन्मुख हुनुभएको छ ।’ ‘सरकारले अर्थतन्त्रसमेत सुधार गर्न सकेको छैन् । बिगतका सरकारले बनाएको बजेट समेत कार्यान्वयनबाट पछि हटिरहेको छ’, उनले भने “आफै सहभागी भएको सरकारले ल्याएको बजेट पनि कार्यान्वयन गर्न नसक्नु दुःखद पक्ष हो ।’
सरकारले ल्याएको भूमी सम्बन्धी अध्यादेशले भूमिहीनलाई जग्गा बाँड्ने तिर भन्दा सरकारी जग्गा हडप्ने तिर सहजता ल्याउने उनको आरोप थियो । उनले आगामी निर्वाचनमा माओवादी एक्लै चुनाव लडेर बलियो शक्ती बन्ने तर्फ केन्द्रित भएको बताए ।