कञ्चनपुरमा बेहुला बेपत्ता भएपछि विवाह स्थगित,बेहुला र बेहुली दुवैका आफन्त अन्योलमा

अत्तरिया : बेहुला बेपत्ता भएपछि कञ्चनपुरमा विवाह स्थगित भएको छ । लालझाडी गाउँपालिका–४, पर्सियाको दीपकराज राना विवाहको चार दिनदेखि बेपत्ता भएपछि विवाह स्थगित गरिएको हो । वैदेशिक रोजगारीबाट फर्किएका रानाको कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिका–६, कसरोलकी सुमित्रा रानासँग लगनगाँठो तय भएको थियो ।

फागुन ४ गते तय गरिएको विवाहको सबै तयारी भइसकेपछि बेहुला बेपत्ता हुँदा बेहुला र बेहुली दुवैका आफन्त अन्योलमा छन् । रमझमको तयारीमा रहेका दुवैतर्फ परिवारमा सन्नाटा छाएको छ । आपसी सहमतिमा विवाह स्थगित गरेका उनीहरूले दुलहा खोजीका लागि कञ्चनपुर र कैलाली प्रहरीलाई गुहारेका छन् । आफ्नो विवाहको सबै तयारीसहित निम्तोसमेत बाँडेर कैलालीको धनगढीबाट भाइ (बेहुला) सम्पर्कविहीन भएको दुलहाका दाजु लोकराज रानाले बताए । “सबै तयारी पूरा भइसकेको थियो । भाइ र मैले दुवै जना खटेर आफन्तलाई निम्तोसमेत बाँडिसकेका थियौँ,” उनले भने, “कोट लिन धनगढी गएको भाइ माघ ३० बाट सम्पर्कविहीन छन् ।”

रानाका अनुसार धनगढीमा कोट किनेर बेहुला धनगढीमै बस्ने आफ्नो भान्जाभान्जीको कोठामा खाना खान गएका थिए । “कोट भान्जाभान्जीकै कोठामा राखेर घर जान्छु भनेर त्यहाँबाट निस्केका भाइ त्यसपछि अहिलेसम्म सम्पर्कमा छैन,” उनले भने, “के भयो, कुन अवस्थामा छ, हामी अन्योलमा छौँ । कतै केही नराम्रो त भएको छैन भनेर डर पनि लागिरहेको छ ।” सम्पर्कविहीन भाइको मोबाइल त्यही दिनदेखि स्विच अफ रहेको रानाले जानकारी दिए । उनले भाइको खोजीका लागि कञ्चनपुरको बेलौरी प्रहरी र जिल्ला प्रहरी कार्यालय कैलालीमा आग्रह गरेको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहोराले सम्पर्कविहीन दुलहा खोजीकार्यका लागि मौखिक जानकारी आएको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.