कैलालीमा स्ववियु चुनावको सरगर्मी बढ्यो

अत्तरिया : त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव सरगर्मी बढेको छ । स्ववियु चुनाव नजिकदै गर्दा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कैलालीमा चुनाव हुने १२ वटा क्याम्पसहरूमा चुनावको माहोल तातेको हो ।

मुख्य गरी विद्यार्थी संगठनहरूले संगठन दर्ता गरेसँगै क्याम्पसहरूमा आफ्नो उपस्थिति बढाएका छन् । कसरी आफ्ना उम्मेदवारलाई जिताउने त्यसै रणनीतिमा अहिले विद्यार्थी संगठनहरू लागेका देखिन्छन् । कैलाली जिल्लामा १२ वटा क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव आउँदो चैत ५ गते हुने गरी तयारी अगाडि बढेको छ ।
कैलालीमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुने ऐश्वर्या बहुमुखी क्याम्पस धनगढी, फुलबारी बहुमुखी क्याम्पस धनगढी, बिरेन्द्र विद्यामन्दिर क्याम्पस टिकापुर , लम्की बहुमुखी क्याम्पस लम्की, रघुनाथ आदर्श बहुमुखी क्याम्पस जोशीपुर, मोहन्याल बहुमुखी क्याम्पस भजनी, घोडाघोडी बहुमुखी क्याम्पस घोडाघोडी, राष्ट्रिय कलेज घोडाघोडी ,बुलबुले बहुमुखी क्याम्पस घोडाघोडी ,चौमाला बहुमुखी क्याम्पस गौरीगंगा , खप्तड बहुमुखी क्याम्पस गौरीगंगा र बर्दगोरिया बहुमुखी क्याम्पस बर्दगोरिया गरी १२ वटा क्याम्पसहरूमा चुनावको सरगर्मी बढेको छ ।

यी क्याम्पसहरूमा विशेषगरी नेपाल विद्यार्थी सङ्घ , अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अखिल क्रान्तिकारी, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (समाजवादी) ले १२ वटै क्याम्पसहरूमा आफ्ना संगठनहरू दर्ता गरेका छन् । भने केही क्याम्पसहरूमा अन्य विद्यार्थी संगठन र स्वतन्त्र समूहले पनि संगठनहरू दर्ता गरी चुनावको तयारीमा लागेका छन् । नेपाल विद्यार्थी सङ्घ कैलाली जिल्लाका अध्यक्ष मनिष कुँवरले नेविसंघ चुनाव हुन लागेका १२ वटै क्याम्पसहरूमा चुनाव लड्ने बताए । यस्तै अनेरास्ववियुका जिल्ला अध्यक्ष कुबेर खड्काले अनेरास्ववियुले १२ वटै क्याम्पसहरूमा संगठन दर्ता गरेको जानकारी दिए । अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष तपेन्द्र शाहले पनि अखिल क्रान्तिकारीले १२ वटै क्याम्पसहरूमा संगठन दर्ता गरेको जानकारी दिए । अनेरास्ववियू (समाजवादी) ले पनि १२ वटै क्याम्पसहरूमा संगठन दर्ता गरेको जिल्ला उपाध्यक्ष धनराज जोशीले जानकारी दिए ।

संगठन दर्ता गरिसकेपछि उम्मेदवार टुङ्गो लगाउनमा संगठनहरू व्यस्त देखिन्छन् । साथै टिकट माग्नको लागि विद्यार्थी नेताहरुको दौड धुप पनि त्यस्तै चलेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.