अत्तरिया, २४ फागुन : गोदावरी नगरपालिका–९ मा प्रथम होरी मिलन कार्यक्रम २०८१ भव्य रूपमा सम्पन्न भएको छ । “संस्कृति बचाऔं, कुरीति हटाऔं” भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रममा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको आर्थिक सहयोग गोदावरी नगरपालिका ९ नं. वडाबाट गरिएको थियो भने आयोजना मिडिया एण्ड इन्टरटेनमेन्ट प्रा.लि. ध.उ.म.न.पा.–७, कैलालीले गरेको थियो ।
उक्त अवसरमा गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट प्रमुख अतिथिको रूपमा उपस्थित रहेका थिए । त्यस्तै, गोदावरी नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रामलाल राना तथा धनगढी उपमहानगरपालिका वडा नं. १७ का वडा अध्यक्ष माघब राना विशेष अतिथिका रूपमा कार्यक्रममा सहभागी थिए ।
कार्यक्रमका आयोजक समिति अध्यक्ष कालुराम रानाले सुदूरपश्चिमको कैलाली–कञ्चनपुर क्षेत्रमा बसोबास गर्ने राना थारु समुदायले आफ्ना मौलिक संस्कारलाई जीवित राख्न पहिलो पटक होरी मिलन कार्यक्रमको आयोजना गरेको जानकारी दिए ।
कार्यक्रम सञ्चालन सरस्वती रानाले गरेको थियो भने स्वागत मन्तव्य होरी मिलन कार्यक्रमका सचिव डम्मर रानाले व्यक्त गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख बिरेन्द्र भट्टले नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक समाज भएको हुँदा हरेक समुदायले आफ्नो मौलिक संस्कृतिको संरक्षण गर्नुपर्ने बताए । उनले चौधरी समुदायमा माघी पर्वको विशेष रौनक रहने भएजस्तै राना थारु समुदायका लागि होली पर्व महत्वपूर्ण रहेको उल्लेख गरे ।
उनले गोदावरी नगरपालिका संस्कृतिको प्रवद्र्धन तथा जगेर्नाका लागि निरन्तर साथ र सहयोग गर्न तत्पर रहेको बताउँदै स्थानीय समुदायलाई यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे । कार्यक्रमले राना थारु समुदायको पहिचान झल्काउने मात्र नभई स्थानीय संस्कृति प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिएको आयोजकहरूले बताएका छन् ।
सम्बन्धित पाेस्टहरु