बैतडी : बैतडीमा शिशु मृत्युदर कायमै रहेको पाइएको छ । स्वास्थ्य कार्यालय बैतडीको तथ्याङ्क अनुसार गएको तीन आर्थिक वर्षमा ७० जना नवजात शिशु र तीन जना प्रसूति महिलाको मृत्यु भएको छ । तथ्याङ्क अनुसार आव २०७८\७९ मा ४३ नवजात शिशु, आव २०७९\८० मा ११ जना, २०८०\८१ मा १३ जना र चालु आवको साउनदेखि माघ मसान्तसम्म तीन जना नवजात शिशुको मृत्यु भएको छ । योसँगै आव २०८०\८१ मा दुई जना प्रसूति महिला र चालु आव २०८१\८२ मा एक जना प्रसूति आमाको मृत्यु भएको स्वास्थ्य कार्यालय बैतडीका खोज सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए ।
उनले भने, “दिगो विकास लक्ष्य अन्तर्गत सन् २०३० सम्म मातृशिशु मृत्युदर शून्यमा झार्ने लक्ष्य भए पनि सो लक्ष्य हासिल गर्न चुनौती छ ।” उनका अनुसार आमा र शिशुको मृत्यु नरोकिनुका पछाडि स्वास्थ्य संस्था जान ढिलाइ, पुगिहाले पनि स्वास्थ्य सेवा पाउन ढिलाइ र तालिमप्राप्त दक्ष स्वास्थ्यकर्मी नहुनु मुख्य समस्या रहेका छन् । प्रसूति महिलाको रक्तचाप बढेर शरीर काम्दा देवीदेवताको पछाडि लाग्ने जस्ता अन्धविश्वास पनि रहेको उनले बताए । बैतडीका १० स्थानीय तह र ८४ वडामा सुरक्षित प्रसूति सेवा दिन १५७ वटा प्रसूति केन्द्र रहेका छन् । यीमध्ये ११५ वटा स्वास्थ्य संस्थामा तालिमप्राप्त दक्ष जनशक्ति रहेको छ भने साबिकका ६८ वटा गाविसका तत्कालीन स्वास्थ्य चौकीमा अनमी, अहेव र औषधी उपकरणको व्यवस्था गरिएको छ ।