तराईमा आज होली पर्व मनाइँदै, २२ जिल्लामा सार्वजनिक बिदा

अत्तरिया : रङहरूको पर्व होली आज तराई तथा मधेसका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदै छ। हिमाली एवं पहाडी जिल्लामा होली (फागुपूर्णिमा) मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज तराईका जिल्लामा होली मनाउन लागिएको हो।

आज कैलाली, कञ्चनपुर, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), चितवन, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, लगायतका जिल्लामा होली मनाइँदै छ।

मगर, थारू समुदायको बाक्लो बसोबास रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा होली पर्वलाई विशेष महत्त्वका साथ मनाउने गरिएको छ। सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रसरङ्गले तरङ्गित तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्वका रूपमा लिने गरिन्छ।

सबैलाई एउटै रङमा रङ्ग्याउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको पण्डित बुद्धिसागर भण्डारीले बताए। ‘असत्यमाथि सत्यको, छलमाथि निश्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ’, उनले भने, ‘धार्मिक महत्वसँगसँगै सामाजिक सद्भाव र उमङ्ग प्रदान गर्न होलीको विशेष भूमिका रहेको छ।

प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नाउँबाट मनाउन थालिएको भण्डारीले बताए। रसरङ्ग, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रङमा अरूलाई रङ्ग्याउने, ढोल, डम्फु, मृदङ्ग बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने यस पर्वको आफ्नै गरिमा छ। पहाडी जिल्लामा होलीको बिहीबार सार्वजनिक बिदा दिइएको भए पनि तराईका जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.