अत्तरिया : शुक्रबार पूर्वराजा समर्थकहरुले गरेको प्रदर्शन उग्र बन्दा २ जनाको मृत्यु र ११० जना घाइते भएका छन् भने १४ वटा आगजनी समेत भएको छ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा तीनकुने क्षेत्रमा भएको प्रदर्शन उग्र बनेको हो। काठमाडौं प्रहरीका अनुसार एक पत्रकार र एक प्रदर्शनकारीले ज्यान गुमाएका छन्। काठमाडौंको कीर्तिपुर नगरपालिका ४ बस्ने २९ वर्षका सबिन महर्जन र सुरेश रजक तीनकुनेस्थित मार्वल हाउसमा मृत फेला परेका हुन्।
मृतक रजक एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार हुन् भने महर्जन प्रदर्शनमा सहभागी हुन्। महर्जनलाई घाइते अवस्थामा शिक्षण अस्पताल महाराजगन्ज लगिएकोमा अपराह्न ४ः०५ बजे मृत्यु घोषित गरिएको थियो। प्रदर्शनका क्रममा ५३ नेपाल प्रहरी र २२ सशस्त्र प्रहरी पनि घाइते छन्। उता प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएको प्रहरीले उल्लेख गरेको छ।
उक्त प्रदर्शन उग्र बनेसँगै प्रदर्शनकारीले १५ वटा सवारीसाधनमा तोडफोड तथा आगजनी गरेको प्रहरीले उल्लेख गरेको छ। काठमाडौं प्रहरीका अनुसार ९ वटा सरकारी गाडी, सरकारी र निजी नखुलेका ६ वटा गरी जम्मा १५ सवारीसाधनमा क्षति भएको छ। प्रदर्शनकै क्रममा तोडफोड र आगजनीका घटना समेत भएका छन्।
१४ वटा आगजनीका घटना हुँदा ९ वटा संस्था तथा कार्यालयमा तोडफोड भएको प्रहरीले जनाएको छ। यसबाहेक एउटामा भने तोडफोडसँगै लुटपाट भएको छ। प्रहरीका अनुसार तीनकुने अन्नपूर्ण कम्प्लेक्स, मार्वल हाउस तीनकुने, कोटेश्वर महादेवस्थान, कार्गोको कम्पाउन्ड, कोटेश्वर चोक, भाटभटेनीनजिकैको सरकारी गाडी, जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र, समाजवादी पार्टीको कार्यालय, बालकुमारीबाट काठमाडौं आउने करिडोर बाटो, बानेश्वर पुलपारिपट्टि, एयरपोर्टको फोहोरा, इन्द्रेणी सहकारीको कार्यालय भवन सिनामंगल, रोयल रेस्टुराँ सिनामंगल र एरोम्याक्सको कार्यालय रहेको भवन सिनामंगलमा आगजनी भएको हो।
त्यसैगरी तोडफोड भएका संस्था तथा कार्यालयहरुमा अन्नपूर्ण मिडिया नेटवर्क तीनकुने, कान्तिपुर मिडिया हाउस बानेश्वर, केएमसी अस्पताल सिनामंगल, सिनामंगलकै डीआईएअगाडिको नयाँ भवन, सिनामंगलमा रहेका प्रहरीका दुई सीसीटीभी, प्रहरी बिट सिनामंगल भत्केको पुल, प्रहरी प्रभाग कोटेश्वर, ट्राफिक प्रहरी प्रभाव कोटेश्वर र समाजवादी पार्टी कार्यालय बागमती करिडोर छन्। प्रदर्शनका क्रममा कोटेश्वरमा रहेको भाटभटेनी सुपरमार्केटमा लुटपाट समेत भएको छ।