कैलालीमा लागुऔषधको भयावह : चालू आर्थिक बर्षमा ५५० जना प्रहरीको फन्दामा

अत्तरिया : कैलालीमा लागूऔषध लाग्नेको संख्या भयावह रहेको छ । प्रहरीले दैनिकजसो लागूऔषध प्रयोग कर्ताहरु पक्राउ गर्ने गरेको छ । लागुऔषध प्रयोग कताहरु बढी युवाहरु रहेका छन् ।
कैलाली प्रहरीले चालु आर्थिक वर्षको हालसम्म लागुऔषध कारोवारमा ५ सय ५० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५ सय १९ जना पुरुष र ३१ जना महिला रहेका छन ।
उनीहरुलाई जिल्लाका विभिन्न ३ सय ५४ घटनामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सहप्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । पक्राउ परेका मध्ये कतिपय अदालतबाट छुटेका छन भने अधिकांश कारागार चलान भएका छन । प्रहरी निरीक्षक जोशीका अनुसार पछिल्लो समय पक्राउ परेकाहरुको बारेमा अनुसन्धान भैरहेको छ । ‘कतिपय अदालतबाट छुटेको होलान, कतिपय अनुसन्धानकै क्रममा छन’ उनले भने–‘अधिकांश भने कारागार चलान भएका छन ।’
प्रहरीका अनुुसार सबैभन्दा धेरै घटना पुष महिनामा भएका छन । प्रहरीले पुष महिनामा भएका ५९ घटनामा ८३ जना पक्राउ परेको बताएको छ । जसमध्ये ८२ पुरुष र १ जना महिला रहेका छन । प्रहरीले माघ महिनामा समेत पुष महिनाकै हाराहारीमा लागु औषध कारोवारी र सेवनकर्ता पक्राउ परेको जनाएको छ । प्रहरीका अनुसार माघ महिनामा भएका ५४ वटा घटनामा ७१ जना पुरुष र १० जना महिला पक्राउ परेका छन ।
प्रहरीले दिएको तथ्यांक अनुसार लागुऔषध कारोवार र सेवन गर्नेहरुको संख्या डरलाग्दो ढंगले बढिरहेको छ । तथ्यांक अनुसार साउन महिनामा ३३ वटा घटना भएकोमा ४३ पुरुष र १ महिला, भदौ महिनामा २१ वटा घटनामा ३२ पुरुष र १ महिला, असोज महिनामा ३५ घटनामा ५२ पुरुष र ७ महिला, कार्तिक महिनामा ३६ घटनामा ६७ पुरुष र २ महिला, मंसिर महिनामा ३७ घटनामा ६४ पुरुष र २ महिला पक्राउ परेका छन ।
त्यस्तै फागुन महिनामा ४२ घटनामा ५६ पुरुष र ४ महिला, चैत महिनाको आइतवारसम्म ३७ घटनामा ५२ पुरुष र ३ महिला पक्राउ परेको प्रहरी निरीक्षक जोशीले जानकारी दिए । प्रहरी टोलीले पछिल्लो आईतवार राति मात्रै ३ ग्राम ७६० मिलिग्राम लागुऔषध खैरो हेरोईन सहित ४ जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार उनीहरुलाई धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुर स्थित एन एस होटलबाट पक्राउ गरिएको हो । सो होटलमा लागुऔषध कारोवार भैरहेको सूचनाका आधारमा होटलमा छापा मारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । पक्राउ पर्नेमा कञ्चनपुर बेदकोट नगरपालिका वडा नम्बर ८ का २० वर्षका सुरेश बिष्ट, कञ्चनपुर भिमदत्त नगरपालिका वडा नम्बर १० का २३ वर्षका लोकेन्द्र चन्द, डोटी दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ का १९ वर्षका रिजन कठायत र कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मिलन चोककी १८ वर्षकी आशिका सिजापती रहेका छन ।
यसरी पक्राउ पर्नेमा अधिकांश युवायुवती छन । प्रहरीका अनुसार कतिपय बालबालिका समेत पक्राउ परेका छन । पक्राउ परेकाहरु लागुऔषध कारोवार र सेवन दुवै कार्यमा संलग्न रहेको पाईएको छ । प्रहरीले उनीहरुको साथबाट लागुऔषध मध्ये कडा मानिएको खैरो हेरोईन बरामद भैरहेको जानकारी दिएको छ ।
प्रहरीले खैरो हेरोईनको कारोवारमा वृद्धि भैरहेको जनाएको छ । केही वर्षअघिसम्म खैरो हेरोईन बरामद भएका घटना न्यून रहेपनि विगत एकवर्ष यता अधिकांश घटनामा खैरो हेरोईन बरामद भैरहेको प्रहरीको भनाई छ । प्रहरीले खैरो हेरोईनको कारोवार वृद्धि भएसँगै सेवन गर्नेको संख्या समेत बढेको जनाएको छ । ‘खुला सीमानासँगै सहजै भित्रिन्छ । जसले सेवनकर्ताको संख्या बढाएको छ’ प्रहरी निरीक्षक जोशीले भने–‘प्रहरीले रोकथामको पहल गरिरहेको छ ।’
कैलाली लागुऔषध दुव्र्यसन ओसारपसार हुने प्रमुख जिल्ला मध्ये पर्न थालेको छ । भारतीय सीमा क्षेत्रमा रहेका बजारमा सहजै पाईने लागुऔषधले नेपाली युवायुवतीहरु दुव्र्यसनमा फस्ने क्रम बढेको छ । प्रहरीका अनुसार लागु औषधको सेवनले समाजमा अपराधिक घटना समेत बढेका छन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.