शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना अभियान प्रभावित

कञ्चनपुरः विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित काठमाडौं केन्द्रित शिक्षक आन्दोलनका कारण कञ्चनपुरमा विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ।

सरकारले वैशाख २ गतेदेखि सामुदायिक विद्यालयहरूमा विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने योजना बनाएपनि आन्दोलनका कारण अधिकांश विद्यालय बन्द छन्।नेपाल शिक्षक महासंघको नेतृत्वमा चैत २० गतेदेखि सुरु भएको आन्दोलन अझै जारी छ।

महासंघले शैक्षिक हड्तालको घोषणा गरेपछि कञ्चनपुरका अधिकांश सामुदायिक विद्यालयले आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सम्पूर्ण शैक्षिक गतिविधि बन्द गरेका छन्।महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालयका प्रधानाध्यापक देवराज भट्टले विद्यालयमा सम्पूर्ण शैक्षिक कार्यक्रम बन्द गरिएको जानकारी दिए।

“शिक्षकहरू आन्दोलनमा काठमाडौं गएका छन्, पठनपाठन गर्ने वातावरण छैन,“ उनले भने, “सरकारले माग सम्बोधन गरेपछि मात्रै शैक्षिक कार्यक्रम अघि बढ्नेछ।“शान्ति निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक पुष्पराज ओझाले पनि विद्यालय बन्द गरिएको सूचना जारी गरेका छन्। जिल्लाका अधिकांश विद्यालयका शिक्षक आन्दोलनमा सहभागी भएकाले पठनपाठन लगायतका गतिविधि ठप्प छन्।

शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक उत्तम विष्टले सरकार माग सम्बोधन नगरेसम्म विद्यालय सञ्चालन नहुने बताए। “सरकारले माग पूरा गरेपछि मात्र कार्यक्षेत्रमा फर्किन्छौं,“ उनले भने, “यदी सम्बोधन भएन भने वैशाख ११ देखि सुरु हुने कक्षा १२ को परीक्षा पनि प्रभावित हुनेछ।“भीमदत्त नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीका अनुसार, सबै सामुदायिक विद्यालय बन्द भएकाले विद्यार्थी भर्ना अभियान अघि बढ्न सकेको छैन। “शिक्षक शैक्षिक हड्तालमा छन्, विद्यालय बन्द छन्,“ उनले भने, “हामी सरकारबाट चाँडै समाधान आउने अपेक्षामा छौं।“

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.