घरेलु हिंसामा न्यायको खोजी गरिरहेकी अत्तरियाकी जानदेवी बुढा मृत फेला 

कैलाली:घरेलु हिंसाबाट पीडित भइ प्रहरीसहित विभिन्न निकायमा न्यायको खोजी गरिरहेकी कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियाकी जानदेवी बुढा मृत अवस्थामा फेला परेकी छन्।

बर्दियाको बाँसगढी नगरपालिका–३ की २६ वर्षीया जानदेवीले अढाई वर्षअघि अत्तरियाका कृष्णबहादुर रावलसँग प्रेम विवाह गरेकी थिइन्। विवाहपछि केही समयसम्म सम्बन्ध सामान्य रहे पनि पछि पति र परिवारबाट दुर्व्यवहार, कुटपिट, मानसिक तथा शारीरिक यातनामा परेको भन्दै उनले प्रहरीमा उजुरी दिएकी थिइन्।

उजुरीपछि प्रहरीले दुवै पक्षलाई छलफलमा बोलाएर मिलापत्र गराएको थियो। तर, त्यसपछि पनि हिंसा नरोकेपछि जानदेवीले गोदावरी नगरपालिका न्यायिक समिति तथा महिला तथा बालबालिका सेभ हाउसमा समेत सहयोगको लागि पुगिन्। तर, पटक–पटक सहायता माग्दा पनि न्याय नपाएको भन्दै उनी निराश थिइन्।

बिहीबार राति जानदेवीले आफ्ना भाइ सुरजित बुढालाई,सबै जना लागेर कुट्न लागेका छन्, गाली गर्छन्, पागल भन्छन्, भन्ने सन्देश पठाएकी थिइन्। शुक्रबार बिहान उनी आफ्नै घरको कोठामा काठको सिडीमा झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्।उनका घुँडो भुइँमा टेकिएको र शरीरका विभिन्न भागमा चोटपटक देखिएको परिवारको दाबी छ।

उनका काका नरबहादुर भण्डारीले पनि बिहीबार राति जानदेवीले आफूलाई कुटपिट भइरहेको जानकारी दिएको बताए। शव शुक्रबार बिहानै फेला परे पनि प्रहरीले शनिबार बिहान मात्रै उठाएको छ। प्रहरीका अनुसार घटनाको अनुसन्धान जारी छ। पीडितका परिवारले जानदेवीलाई निरन्तर कुटपिट, गालीगलौज गरी आत्महत्या गर्न बाध्य बनाइएको आरोप लगाएका छन्। उनीहरूले दोषीलाई कारबाहीको माग गरेका छन्।

सुरजितले मृतककी श्रीमतीको आत्महत्या दुरुत्साहनको आरोपमा २४ वर्षीय कृष्ण रावल र उनकी सासू गुमादेवी रावलविरुद्ध इलाका प्रहरी कार्यालय, मालाखेतीमा जाहेरी दिएका छन्। घटनाको प्रारम्भिक अनुसन्धानले आत्महत्या जस्तो देखिएपनि, पोस्टमार्टम रिपोर्टपछि थप खुलासा हुने प्रहरी अधिकारी गंगाबहादुर थापाले जनाएका छन्।प्रहरीका अनुसार, मृतकले घरेलु हिंसासम्बन्धी मुद्दा दायर गरेको थियो, जसमा परिवारले मिलापत्र गरेको थियो। हाल, मृतकका श्रीमान् र सासूलाई प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान जारी राखिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.