बैतडीमा विद्यार्थी भर्ना अभियानमा हिँडेका शिक्षकको स्कुल बसबाट खसेर मृत्यु

बैतडी:स्कुल बसको ढोकाबाट खसेर बैतडीमा एक शिक्षकको मृत्यु भएको छ।

दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरस्थित चौलानी बोर्डिङ स्कुलमा कार्यरत बैतडीको दोगडाकेदार गाउँपालिका–४ कपिन्नाका २८ वर्षीय विष्णुराज भट्टको मृत्यु भएको हो।

शनिबार,विद्यार्थी भर्ना अभियान प्रचारप्रसारका क्रममा गोकुलेश्वरबाट पन्ज्युनयाँतर्फ गइरहेका वेला महाकाली राजमार्गअन्तर्गत डिलासैनी गाउँपालिका–६ बांगाबगर पुग्दा साँझ साढे ५ बजेतिर स्कुल बसको ढोकाबाट खसेर शिक्षक भट्ट गम्भीर घाइते भएका थिए।घाइते भट्टको गोकुलेश्वर अस्पतालमा उपचारको क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलदेव बडुले जानकारी दिए।

मृतकको शव गोकुलेश्वर अस्पतालमै रहेको छ। घटनापश्चात् स्कुल बस र चालक दार्चुलाको शैल्यशिखर नगरपालिका–५ का ६० वर्षीय उत्तरसिंह डाँगालाई प्रहरीले नियन्त्रणमा लिएको छ।मृतक शिक्षक चौलानी बोर्डिङ स्कुलमा गणित शिक्षकको रूपमा कार्यरत थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.