काठमाडौँ : सुनको मूल्य आज फेरि अहिलेसम्मकै सबैभन्दा महँगो मूल्यको नयाँ रेकर्ड कायम गरेको छ। विगत केही दिनयता उच्च दरमा बढिरहेको सुनको मूल्यले आज फेरि यसअघिका सबै ‘रेकर्ड ब्रेक’ गरेको हो। सुनको मूल्य आज प्रतितोला ६ हजार नौसय रुपैयाँ बढेर एक लाख ९७ हजार पाँचसय रुपैयाँ पुगेको छ। सोमबार सुन तोलामा १२ सय रुपैयाँ बढेर एक लाख ९१ हजार रुपैयाँ पुगेको थियो।
चाँदीको मूल्य पनि आज तोलामा १० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदी आज एक हजार नौसय ७० रुपैयाँमा कारोबार भइरहेको छ। गत साता ६ दिनमै सुन तोलामा १६ हजार रुपैयाँ बढेको थियो।
गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि उच्च बन्न थालेको हो। अमेरिका र चीनबीच व्यापार द्वन्द्व चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएपछि नेपाली बजारमा पनि त्यसको प्रभाव परेको व्यवसायीले बताएका छन्।