गोदावरी नगरमा नागरिक आरोग्य सेवा केन्द्रको नयाँ भवन उद्घाटन

अत्तरिय, १५ बैशाख : गोदावरी नगरपालिकामा नव निर्मित नागरिक आरोग्य सेवा केन्द्रको भवन उद्घाटन गरिएको छ । गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले सोमबार रिबन काटेर तीन कोठे भवनको उद्घाटन गरेका हुन् । कार्यक्रममा उपमेयर शारदा देवी रोकाया, प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी, स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थी लगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
उक्त भवन निर्माणका लागि गोदावरी नगरपालिकाले आफ्नै लागतमा १३ लाख रुपैयाँ लगानी गरेको हो । स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले भवन निर्माणमा आर्थिक सहयोगका साथै कार्यालय सञ्चालनका लागि आवश्यक उपकरण तथा औजारहरू पनि नगरपालिकाले उपलब्ध गराएको जानकारी दिए ।
कार्यक्रममा बोल्दै कार्यालयकी वैद्य तुला बोहराले नागरिक आरोग्य सेवा केन्द्रले विगत ५ वर्षदेखि निरन्तर सेवा प्रदान गर्दै आएको बताइन् । उनका अनुसार कार्यालयबाट ओपिडी सेवा, पञ्चकर्म सेवा तथा आयुर्वेदिक उपचारमार्फत बाँथ, अम्ल, पित्त जस्ता समस्याका बिरामीहरूको उपचार हुँदै आएको छ । साथै, थेरापी सेवा समेत कार्यालयले प्रदान गर्दै आएको उनले जानकारी दिइन् ।
हाल कार्यालयमा दुई जना कर्मचारी कार्यरत रहेको र भवन निर्माणसँगै सेवा अझ प्रभावकारी र व्यवस्थित हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.