अत्तरिया, १८ बैशाख : कैलालीको गोदावरी नगरपालिकाले बिहीबार अर्थात् (मे १) १३६ औं श्रमिक दिवस मनाएको छ । गोदावरी नगरपालिका रोजगार सेवा केन्द्रको आयोजना गरेको १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसमा निडस् नेपाल र मुक्त कमैया महिला विकास मञ्चको सहकार्य रहेको थियो । नगरले श्रमिकहरु लगायत व्यक्तित्वहरुलाई एकजुट गरी अत्तरिया बजारमा र्याली निकालेर मनाएको हो ।
गोदावरी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिका नगर उप प्रमुख शारदा देवी रोकाया थिईन ।
कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकायाले लोकतन्त्र र गणतन्त्र स्थापना पछिको नीतिगत परिवर्तनले महिलाहरूलाई आत्मनिर्भर र सक्षम बन्ने अवसर प्रदान गरेको बताईन् ।
‘पञ्चायतकालमा घरको चुलोचौकोमा सीमित महिलाहरू अब सीप सिकेर, आर्थिक रूपमा सक्षम भई रोजगारमुखी बन्न थालेका छन्, उनले भनिन् । ‘महिलाहरू शिक्षित हुनुपर्छ, आर्थिक र वित्तीय तालिम आवश्यक छ, स्वरोजगारको अवसर सिर्जना गर्नुपर्छ भन्ने अवधारणामा नगरपालिका लागी परेको छ ।’
उनले श्रमिकहरूको सन्दर्भमा पनि सरोकारवालाहरूले सुरक्षा उपकरणहरूको पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिइन । ‘श्रमिकहरूको हकहितको संरक्षणमा नगरपालिका सधैं अग्रसर छ, उपप्रमुख रोकायाले स्पष्ट पारिन ।
यस्तै कार्यक्रममा नगर प्रवक्ता गोपालदत्त भट्टले श्रमिकको महत्व सबैले बुझ्न आवश्यक रहेको बताए । उनले सरकारी कर्मचारी, दैनिक ज्यालादारी, खेतीपाती गर्ने लगायतका व्यक्तिहरू कुनै न कुनै माध्यमबाट श्रममा जोडिएकै कारण सबै श्रमिक भएको उल्लेख गरे । ‘हामी सबै केहि न केही माध्यमबाट श्रमिकमा जोडिएका छौं, त्यसैले हामी श्रमिक हौं, उनले भने । श्रमिकको योगदानलाई सम्मान गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उनले काम गर्ने व्यक्ति सानो हुँदैन भन्ने सन्देश दिनु जरूरी रहेको बताए । ‘एक अर्कालाई सम्मान गरेर कार्य गर्नु आजको आवश्यकता हो, प्रवक्ता भट्टले जोड दिए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीले श्रमिकको सम्मान गर्नु प्रत्येक जिम्मेवार संस्थाको कर्तव्य भएको बताउँदै उनले श्रमिकले आफ्नो श्रमको उचित मूल्य पाउनैपर्नेमा जोड दिए । ‘श्रमिकहरू राष्ट्र निर्माणका मेरुदण्ड हुन्, उनले भने, उनीहरूको सम्मान गर्नुको साथै उचित पारिश्रमिक दिनु सामाजिक न्याय र समृद्ध समाज निर्माणको आधार हो ।’ उनले गोदावरी नगरपालिकाले श्रमिकहरूको हक, अधिकार र सुरक्षाको पक्षमा दृढ रहेको स्पष्ट पारे । ‘श्रमिकको सम्मान गर्नुपर्छ, श्रमिकले तोकिएको ज्याला पाउनु पर्छ । श्रमिकको सम्मान साथै हकका लागी गोदावरी नगरपालिका प्रतिबद्ध रहेको छ’ उनले भने । कार्यक्रमका बोल्ने अन्य वक्ताहरूले पनि श्रमिकहरूको योगदानको प्रशंसा गर्दै उनीहरूको जीवनस्तर उकास्न सामूहिक प्रयास आवश्यक रहेको धारणा राखेका थिए । कार्यक्रममा १०० सय दिने रोजगार कार्यक्रममा सहभागी र रोजगारदतालाई सम्मानित समेत गरिएको थियो ।
सम्बन्धित पाेस्टहरु