अत्तरिया : गोदावरी नगरपालिका वडा नं ५ को वडा भेला सम्पन्न भएको छ । वडाध्यक्ष सुद्धिराम चौधरीको अध्यक्षतामा आयोजित ९ औं वडा भेलाका प्रमुख अतिथि नगर प्रमुख विरेन्द्र भट्ट रहेका थिए । यस्तै विशिष्ठ अतिथिमा उप प्रमुख शारदा देवी रोकाया रहेकी थिइन् ।
वडाध्यक्ष सुद्धिराम चौधरीले आ व २०८१\०८२ मा भए गरेका योजना तथा कार्यक्रमहरु र आगामी आ व २०८२\०८३ का लागी योजना तथा नीति कार्यक्रमहरु प्रस्तुत गरेका थिए । गोदावरी नगरपालिका बजेट सिलिङ्ग बाट समानीकरण बजेट ७० लाख र जनसंख्या विकासको अवस्था आन्तरिक आय आधारमा ३१ लाख ५५ हजार ३७ रुपैयाँ गरी जम्मा १ करोड १ लाख ५५ हजार ३७ रुपैयाँ बजेट विनियोजन गरिएको छ । जसमा आर्थिक क्षेत्र, सामाजिक क्षेत्र, पूर्वाधार क्षेत्र, वन तथा वातावरण साथै सुशासन तथा अन्य क्षेत्रमा बजेट विनियोजन गरिएको हो ।
विनियोजन गरिएको बजेट अन्तर्गत २०८२\०८३ का लागी रहेका नीति तथा कार्यक्रमहरुमा कृषि तथा पशुपन्छी, सिचाई, उद्योग, वाणिज्य तथा आपूर्ति, सांस्कृतिक तथा पर्यटन सहकारी तथा गरिबी निवारण स्वास्थ्य तथा पोष्ण, शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद, महिला, बालबालिका तथा समाज कल्याण, संरक्षण, खानेपानी तथा सरसफाई सडक तथा यातायात व्यवस्था, शहरी विकास, सूचना तथा सञ्चार, जलविद्युत तथा बैकल्पिक उर्जा र स्थानिय पूर्वाधार,वन तथा भू संरक्षण, जलवायुपरिवर्तन, फोहोरमैला व्यवस्थापन, विपद जोखिम न्यूनीकरण, जल उत्पन्न प्रकोप नियन्त्रण, मानव संशाधन विकास, संस्थागत क्षमता विकास, स्रोत परिचालन, स्थानिय योजना तथा तथ्याङ्क लाई प्राथमिकता दिइएको जनाएको छ ।
वडाध्यक्ष चौधरीले चालू आ ब २०८१\०८२को वडा भित्रका २० भन्दा बढी योजनाहरू सम्पन्न भइसकेको र ३ वटा योजनाहरू बाँकी रहेको जानकारी दिए । चौधरीले वडामा हुनुपर्ने विकासको कार्यमा आफू निरन्तर रूपमा लागी परेको बताए । वडाबसीहरुको माग, गुनासो लाई मध्यनजर गर्दै आगामी दिनमा वडाको बजेटले भ्याए सम्म थप सहज हुने खालको वातावरण सृजना साथै प्रविधिमैत्री अनुसारको विकासको क्षेत्रमा तत्पर रहने विश्वास व्यक्त गरे ।