कर्मचारीका माग पूरा गर्न प्रदेश सरकारलाई गौरीगंगाका उपप्रमुखको आग्रह

अत्तरिया : कैलालीको गौरीगंगा नगरपालिकाका उपप्रमुख भोजबहादुर बमले आन्दोलनरत कर्मचारीका जायज मागहरूलाई सम्बोधन गर्न सुदूरपश्चिम प्रदेश सरकारलाई आग्रह गरेका छन् ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले स्थानीय सेवा ऐन संसदमा प्रस्तुत गर्न प्रदेश सरकारलाई आग्रह गरेका हुन । उनले विज्ञप्तिमा भनेका छन्, ’प्रदेशभरका स्थानीय तहका कर्मचारीहरू आफूहरूका माग सम्बोधन नहुँदा कामकाज बन्द गरी आन्दोलनमा उत्रिएका छन् । सरकारको उदासिनता, अपमानजनक व्यवहार र निष्कृयताले सुशासन र विकासको लक्ष्यलाई गम्भीर क्षति पु¥याइरहेको छ । प्रदेश सरकारले अविलम्ब संसदको अधिवेशन आह्वान गरोस् ।’
उनले प्रदेश सरकारलाई आन्दोलनरत कर्मचारीका जायज मागहरूलाई सम्बोधन गर्दै उनीहरूलाई पुनः नियमित कामकाजमा फर्काउने पहल तुरुन्त गर्न आग्रह गरेका छन् । विज्ञप्तिमा भनिएको छ,’सात प्रदेशमध्ये छ वटा प्रदेशले स्थानीय तहका कर्मचारी सम्बन्धी ऐन निर्माण गरी कार्यान्वयनमा लगिसकेका छन्, सुदूरपश्चिम प्रदेशमा अझै पनि यस्तो विधेयकको अभाव हुनु अत्यन्तै दुःखद र लज्जास्पद अवस्था हो ।’
त्यस्तै उनले सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटलाई प्रभावकारी रूपमा खर्च गर्न नसकेको र जनतामा व्यापक असन्तुष्टि रहेको बताएका छन् । ‘प्रदेश सरकार गम्भीर नभई नीति,निर्णय र सार्वजनिक उत्तरदायित्वबाट पन्छिँदै आएको देखिन्छ’उनले विज्ञप्तिमा भनेका छन् ।
स्थानीय सेवा ऐन जारी गर्न माग गर्दै केही दिन यता स्थानीय तहका कर्मचारी आन्दोलित भएका छ । स्थानीय तहको गठन,सञ्चालन र सेवाका सर्तसम्बन्ध व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा विचाराधीन छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.