गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न बजेट माग गर्दै प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन
अत्तरिया, ८ जेठ : सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि बजेट माग गर्दै प्रधानमन्त्री र सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ । बिहिबार सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिले नेपाल सरकारसँग बजेट माग गरेको हो । बजेट मागसंगै विश्वविद्यालय विधेयक पास गर्न भूमिका खेल्ने सबैलाई धन्यपाद ज्ञापन गरेको छ ।
गोदावरी नगरपालिका–५ गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी कानुन प्रतिनिधि सभाबाट पारित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई जिल्ला प्रशासनमार्फत धन्यवाद पत्र पठाउदै बजेट माग गरिएको छ । समितिका संयोजक लोकराज पाण्डे ओगोले गेटामा विश्वविद्यालय सञ्चालनका लागि तीन देखि ४ अर्ब बजेट आवश्यक हुन सक्ने बताए ।
समितिले जिल्ला प्रशासन कार्यालय, कैलालीमार्फत प्रधानमन्त्रीलाई बुझाइएको पत्रमा भनिएको छ, ‘आर्थिक वर्ष २०८२\०८३ को बजेट सङ्घीय संसदमा २०८२ जेठ १५ गते प्रस्तुत गरिने हुँदा आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य विज्ञान विश्व विद्यालय र शिक्षण अस्पताल सञ्चालनका लागि आवश्यक बजेटको प्रबन्ध गरिदिन हुँन हार्दिक अनुरोध गर्दछौ ।’
समितिले स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको ऐनमा व्यवस्था भए अनुसारका पदाधिकारीहरूको नियुक्ति प्रक्रिया र आगामी आर्थिक वर्ष भित्रमा चिकित्सा शिक्षा अन्तगर्त एमबीबीएसका कोटा निर्धारणको प्रक्रिया अगाडी बढाउन माग गरिएको छ । समितिले ज्ञापन पत्रमार्फत जेठ ४ गते प्रतिनिधि सभाबाट सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी ऐन पारित भएकोमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा र पुष्पकमाल दहाल (प्रचण्ड), शिक्षा विज्ञान तथा प्रविधि मन्त्री, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री लगायत विभिन्न विभागका प्रमुख तथा कर्मचारीहरूलाई धन्यवादसमेत ज्ञापन गरिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकार गोगनबहादुर हमालले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा ज्ञापन पत्र पठाउने बताए । उनले विश्वविद्यालयका लागि आवश्यक बजेट व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारीको हैसियतले पनि समन्वय गर्ने बताए ।
स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई समेत धन्यवाद दिएको छ । बिहिवार सङ्घर्ष समितिले मुख्यमन्त्री कमल बहादुर शाहलाई भेटेर ज्ञापन पत्र बुझाएको हो । मुख्यमन्त्री शाहलाई समेत विश्वविद्यालय सञ्चालनका लागि बजेटको व्यवस्थापनका लागि माग गरिएको छ । ज्ञापन पत्रमा जनभावनाको सम्मान गर्दै विधेयक पारित गरिदिएकोमा सम्बन्धित नेताहरूप्रति आभार व्यक्त गरिएको छ । साथै विश्वविद्यालयलाई रोजगारी, व्यापार, पर्यटन, आर्थिक तथा सामाजिक रूपान्तरणको आधारस्तम्भका रूपमा चित्रित गर्दै, त्यसका लागि आवश्यक बजेट, जनशक्ति र उपकरण तत्काल व्यवस्था गर्न माग गरिएको छ ।
समितिका संयोजक लोकराज पाण्डेय (आगो), सचिव धर्मसिंह कुँवर, तथा सह–संयोजक आनन्द प्रसाद भट्टले हस्ताक्षर गरेको उक्त ज्ञापन पत्रमा आगामी आर्थिक वर्ष २०८२\०८३ को बजेटमा विश्वविद्यालय र शिक्षण अस्पताल सञ्चालनका लागि आवश्यक रकम विनियोजन गर्न आग्रह गरिएको छ ।
यस्तै, विश्वविद्यालय सञ्चालनका लागि ऐनमा व्यवस्था गरिएका पदाधिकारीहरूको नियुक्ति प्रक्रिया तत्काल अघि बढाउन र चिकित्सा शिक्षा (एमबिबिएस) का लागि सिट संख्या निर्धारण प्रक्रियासमेत आगामी आर्थिक वर्षभित्र प्रारम्भ गर्नुपर्ने माग गरिएको छ । ज्ञापन पत्र बुझ्र्दै मुख्यमन्त्री शाहले संघीय सरकारले बजेट छुट्याउनेमा विश्वासत रहेको बताएका थिए ।
