अत्तरिया, ८ जेठ : गोदावरी नगरपालिका अत्तरियामार रहेको धनगढी दुग्ध वितरण आयोजना (डीडीसी) कार्यालय अन्तै सार्ने योजना बनाएको भन्दै विरोध भएको छ । गुपचुपमै सार्ने योजना बनाएको स्थानीयहरुको आरोप छ ।
डीडीसी कार्यालयमा स्थानीयको समुहले बिहिबार तालाबन्दी गरेको छन । आयोजनालाई गुपचुपमा धनगढी सार्ने प्रयास भईरहेको भन्दै आक्रोशित स्थानीयहरुले यस्तो कदम चालेका हुन् ।
तालाबन्दी अघि, आयोजनाका कार्यालय प्रमुख निराजन भट्टराईलाई स्थानीयले करिब दुई घण्टा कार्यकक्षभित्रै थुनेका थिए । गोदावरी नगरपालिका–१ का वडाध्यक्ष तथा नगरप्रवक्ता गोपालदत्त भट्टको नेतृत्वमा स्थानीय टोलीले यस कार्यवाहीलाई अगाडि बढाएको हो ।
वडाध्यक्ष भट्टका अनुसार डीडीसीलाई अत्तरियाबाट हटाउने सम्बन्धमा कुनै पनि आधिकारिक जानकारी नदिइ पछाडिबाट निर्णय भएको आशंकामा यस्तो विरोध गरिएको हो । “डीडीसीका लागि जग्गा खोजी प्रक्रिया अघि बढिसकेको थियो, समिति गठन समेत भइसकेको थियो । यस्तो अवस्थामा गुपचुप तरिकाले आयोजना सार्ने सम्झौता स्वीकार्य छैन,” भट्टले भने ।
उनले आयोजनाका प्रमुख भट्टराईको संलग्नतामा यस्तो योजना बनाइएको भन्दै स्थानीय जनताको विश्वासमा ठेस पुगेको आरोप पनि लगाए । घटनापछि स्थानीय स्तरमा डीडीसीको भविष्यबारे थप अन्योल उत्पन्न भएको छ । वडाध्यक्ष भट्टले अत्तरियामै डीडीसीको स्थायी स्थापना सुनिश्चित गर्न आवश्यक जग्गा उपलब्ध गराउने लिखित प्रतिबद्धता व्यक्त गर्दै, माग नस्वीकृत भए थप कडा आन्दोलनका कार्यक्रम अघि बढाइने चेतावनी समेत दिएका छन् ।
सम्बन्धित पाेस्टहरु