माग सम्बोधन नभए सार्वजनिक यातायात बन्द गर्ने चेतावनी

अत्तरिया : सार्वजनिक यातायात व्यवसायीहरूले माग सम्बोधन नभएमा आउँदो जेठ १९ गतेदेखि देशभर सार्वजनिक यातायात सेवा अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी दिएका छन्।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय समिति र सुदूरपश्चिम प्रदेश समितिको अगुवाइमा बिहिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय अध्यक्ष भीमज्वाला राईले सरकारलाई आखिरी चेतावनी दिएका हुन्। उनले नेपालमा सार्वजनिक यातायात १९७३ देखि सञ्चालनमा आएपनि अझै पनि गुणस्तरीय सेवा दिन नसकेकोप्रति चिन्ता व्यक्त गरे।

राईका अनुसार १० देखि १३ खर्ब रुपैयाँ निजी क्षेत्रको लगानी रहेको सार्वजनिक यातायातलाई सरकारले व्यवसायिक हैसियतमा हेर्न नसकेको र नीति त बनाइए पनि कार्यान्वयनमा ध्यान नदिइएको गुनासो गरे। उनले भने, “प्रतिदिन २५ लाखभन्दा बढी नागरिकले सार्वजनिक यातायात प्रयोग गर्छन्, तर राज्य उल्टै यसलाई ध्वस्त पार्न लागिपरेको देखिन्छ।”
राईले निजी प्रयोजनका लागि खरिद गरिएका सवारीसाधन यात्रु ढुवानीमा प्रयोग हुन थालेपछि यातायात व्यवसायी ऋणको भारमा परेको बताए। पटक–पटक प्रदेश सरकार, जिल्ला प्रशासन र संघीय सरकारलाई अनुरोध गर्दा पनि सुनुवाइ नभएको गुनासो गरे।
सघीय कानुन र प्रदेश कानुनबीच समन्वय नहुँदा व्यवसायी थप मारमा परेको पत्रकार सम्मेलनमा उल्लेख गरियो। त्यस्तै, भारतीय नम्बर प्लेटका सवारीहरू नेपालका विभिन्न स्थानमा यात्रु ओसारिरहँदा सम्बन्धित निकाय मौन रहेकोप्रति पनि आक्रोश व्यक्त गरियो।

प्रदेश अध्यक्ष ललित चन्दले सुदूरपश्चिमका विभिन्न क्षेत्रमा तोकिएको भन्दा कम भाडामा यात्रु ओसारिने क्रम बढ्दा नेपाली व्यवसायीहरू मर्कामा परेको बताए। उनले सरकारी निकाय र बिचौलियाबीच गठबन्धन भएको आरोप समेत लगाए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.