सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम : प्रादेशिक विकासका योजना प्राथमिकतामा

अत्तरिया : सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२\०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । प्रदेशसभाको छैठौ अधिवेशनको चौथो बैठकमा प्रदेश प्रमुख नाजिर मियाँले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा प्रादेशिक विकासका योजनालाई प्राथमिकता दिने उल्लेख छ । एक सय वटा उच्च प्रतिफलयुक्त आयोजना छनोट गरी कार्यान्वयन गर्ने तथा प्रदेश गौरवका आयोजना र बहुवर्षीय आयोजनालाई प्राथमकिता दिएर कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
उद्यमशीलता विकासमार्फत् प्रदेशको बेरोजगारी, गरिबी न्यूनीकरण गर्ने खालका योजना तथा कार्यक्रममा पनि प्राथमिकता दिइने जानाइएको छ । लगानी नभएका तर, केही नयाँ उपाय र उर्जा भएका उद्यमीलाई सहुलियत ब्याजमा कर्जा प्रवाह गर्न स्टार्टअप कार्यक्रम सञ्चालन गर्ने, श्रमिकको माग र आपूर्तिबारे सर्वेक्षण गर्दै रोजगार पोर्टल सञ्चालन गर्ने र मुख्यमन्त्री गरिबी निवारण तथा लघुउद्यम कार्यक्रम सञ्चालन गर्ने विषय पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
बौद्धिक अपाङगता भएका बालबालिकाका लागि आवासिय विद्यालय सञ्चालन गर्ने, कैलालीको टीकापुरमा विज्ञान तथा प्रविधि विश्वविद्यालय सञ्चालन गर्ने, प्रत्येक जिल्लामा एक÷एक नमुना क्याम्पस सञ्चालन गर्ने, प्रदेश खेलकुद नीति बनाउँदै खेल क्षेत्रको प्रवद्र्धन गर्ने, उत्कृष्ट खेलाडीलाई सम्मान र प्रोत्साहन गर्ने, खेल विद्यालय सञ्चालन गर्ने, एक जिल्ला एक क्रिकेट मैदान निर्माण गर्ने कार्यक्रम पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
नीति तथा कार्यक्रममा प्रदेशसभा सदस्यहरुको बीमा गर्ने पनि उल्लेख छ । यस्तै, अघिल्ला वर्ष जस्तै सुदूरपश्चिम प्रदेशको राजधानीमा पूर्वाधार निर्माण प्रक्रिया अगाडि बढाइने विषय पनि नीति तथा कार्यक्रममा समावेश गरिएको हो ।
डडेल्धुराको जोगबुढा, दार्चुलाको गोकुलेश्वर, कञ्चनपुरको बेलौरी लगायतका अस्पताललाई प्रदेशस्तरको बनाउने, प्रदेश लगानी तथा विकास सम्मेलनको आयोजना गर्ने, एक जिल्ला एक कृषिजन्य उद्योग स्थापना गर्ने, बाकाबिर पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने र आयुर्वेदिक औषधि उत्पादन केन्द्र स्थापना गर्ने विषय पनि नीति तथा कार्यक्रममा छ ।
कार्यक्रममा कैलालीको डुडेझाडीमा प्रदेशस्तरको औद्योगिक क्षेत्र निर्माण गर्ने भएको छ । यस्तै डुडेझारीलाई औद्योगिक क्षेत्रका रुपमा विकास गर्ने योजना संघीय सरकारले विगत लामो समयदेखि नीति तथा कार्यक्रममा समेट्दै आएको थियो । तर, काम भने हुन सकेको थिएन ।
संघ, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र, सुक्खा बन्दरगाह, निर्यात प्रवद्र्धन क्षेत्र, औद्योगिक ग्रामजस्ता औद्योगिक पूर्वाधार स्थापना र निर्माणको पहल गरिने सुदूरपश्चिमको नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै ‘एक जिल्ला एक उद्योग’ स्थापनाका लागि पहल गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
त्यस्तै गरी अछामको बयालपाटा अस्पताललाई प्रदेश सरकार मातहत ल्याइने भएको छ । बयालपाटा अस्पतालको स्वामित्त र व्यवस्थाप प्रदेश सरकार मातहत ल्याउन कानुनी प्रबन्ध गरी प्रदेशस्तरको अस्पतालको रुपमा सञ्चालन गर्न आवश्यक प्रबन्ध मिलाइने छ ।
नीति तथा कार्यक्रममा समेटिएका मुख्य बुँदाहरु
मुख्यमन्त्री गरिबी निवारण तथा लघु उद्यम कार्यक्रम सञ्चालन गरिने
‘डिजिटल नेटिभ्स’ पुस्तालाई लक्षित गरी स्टार्टअप व्यवसाय कार्यक्रम सुरु गरिने
डुडेझारीमा प्रदेश स्तरको औद्योगिक क्षेत्र निर्माण गरिने
एक स्थानीय तहः दुई उत्पादन अभियान सञ्चालन गरिने
‘कृषकलाई टेवाःघरदैलोमा प्राविधिक सेवा’ कार्यक्रम सञ्चालन गरिने
बाकावीर पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने
खप्तड, बडिमालिका, रामारोशन, माल्लिकार्जुन शिखरमा केबुलकारको सम्भाव्यता अध्ययन गरिने
जडीबुटी प्रशोधन, अनुसन्धान र प्रमाणीकरण केन्द्र स्थापनाको कार्य अगाडि बढाइने
प्रदेश गौरवका आयोजना र बहु वर्षीय ठेक्का सम्झौता भई वित्तीय दायित्व सिर्जना भएका आयोजना सम्पन्न गरिने
प्रदेशका प्रमुख सडकहरूको सेफ्टि अडिट गरिने
रोपवे, केबुलकार, पोडवेको सम्भाव्यता अध्ययन गर्ने
सवारी अनुमति पत्र, दर्ता, नवीकरण र राजश्व भुक्तानी अनलाइन गरिने
अस्पतालहरूमा इलेकट्रोनिक मेडिकल रेकर्ड, अनलाइन टिकट र डिजिटल भुक्तानी विस्तार गरिने
जोगबुढा, गोकुलेश्वर, बेलौरी, लम्कीचुहा र कोल्टी अस्पताललाई प्रदेश तहको अस्पताल बनाउने
बयलपाटा अस्पतालको स्वामित्व र व्यवस्थापन प्रदेशमा मातहत ल्याउन कानुनी प्रबन्ध गर्ने
सार्वजनिक स्थानमा व्यायामशाला, आरोग्य केन्द्र, प्राकृतिक चिकित्सा, जुम्ब, योग केन्द्र विपश्यना सञ्चालन गरिने
बेलौरीमा बौद्धिक अपाङ्गता आवासीय विद्यालय सञ्चालनमा ल्याइने
कञ्चनपुरमा झुसे दमाई सांस्कृतिक सङ्ग्रहालय स्थापना गर्ने
एक जिल्ला एक क्रिकेट मैदान निर्माण गरिने
स्नातक र स्नातकोत्तरका विद्यार्थीहरूलाई इन्टरसिप र स्वयंसेवकका रूपमा परिचालन गरिने
लोकराज ढकाल युवा सशक्तीकरण तथा लागू औषध दुव्र्यसन नियन्त्रण कार्यक्रम लागु गरिने
द्वारिकादेवी ठकुरानी महिला आत्मनिर्भरता एवं सशक्तीकरण कार्यक्रम सञ्चालन गर्ने ।
विपन्न, सङ्कटग्रस्त, द्धन्द्धपीडितका लागि जयराज भट्ट क्षमता क्षमता विकास कार्यक्रम सञ्चालन गरिने
दलित समुदायको परम्परागत सीप तथा व्यवसायलाई आधुनिकीकरण गर्न टिकाराम पार्की दलित सशक्तीकरण कार्यक्रम सञ्चालन गरिने
प्रदेशसभा सदस्यको बिमा गर्न आवश्यक प्रबन्ध मिलाइने ।
१०० वटा उच्च प्रतिफलयुक्त आयोजना छनोट गरी कार्यान्वयन गरिने

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.