लगानी सम्मेलनको प्रि–समिट धनगढीमा सुरु

अत्तरिया : सुदूरपश्चिम प्रदेश सरकारले आगामी असोज १ र २ गते आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलनको पूर्वतयारीस्वरूप प्रि–समिट धनगढीमा सुरु भएको छ । बुधबारदेखि सुरु भएको प्रि–समिटको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा भएको हो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको उपस्थिति रहेको छ । यस्तै, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी पनि कार्यक्रममा सहभागी छन् ।

मुख्यमन्त्री शाहका अनुसार, सुदूरपश्चिम प्रदेशको प्राकृतिक स्रोतसाधन, सांस्कृतिक सम्पदा र रणनीतिक भौगोलिक अवस्थितिलाई सदुपयोग गर्दै रुपान्तरणमुखी आर्थिक विकास गर्ने लक्ष्यसहित सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा संघीय, प्रदेश र स्थानीय सरकारका प्रतिनिधि, बहुपक्षीय तथा द्विपक्षीय विकास साझेदार, विदेशी र स्वदेशी लगानीकर्ता, नीति निर्माता, बैंक तथा वित्तीय संस्था, एनआरएन, व्यवसायिक संघसंस्था, शोध संस्थाहरू, स्थानीय उद्यमी, स्टार्टअप प्रतिनिधि लगायत मिडियाकर्मीहरूको समेत सक्रिय सहभागिता रहनेको छ ।

उद्योग, खानी, शिक्षा, स्वास्थ्य, पूर्वाधार, यातायात, कृषि, जडिबुटी, ऊर्जा, सूचना प्रविधि र पर्यटनलगायत क्षेत्रहरूमा लगानी प्रवद्र्धन गर्न सरकारी, निजी र सहकारी क्षेत्रबीचको साझेदारीलाई सशक्त बनाउँदै समृद्धि, विकास र रोजगारी सृजनाको वातावरण तयार पार्ने उद्देश्य लिइएको छ । सम्मेलनको मूल नारा ‘सुदूरपश्चिमको सशक्तीकरणः लगानी, नवप्रवर्तन र उन्नति’ रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.