अत्तरिया, २३ जेठ : गोदावरी नगरपालिका–३ मा रहेको मालाखेती अस्पताललाई हस्तान्तरण गरिएको विभिन्न स्वास्थ्य उपकरणहरूको आयव्यय सार्वजनिक गरिएको छ । “हाम्रो गोदावरी, हाम्रो अभियान“ समूहद्वारा अस्पताललाई प्रदान गरिएका उपकरण सम्बन्धी विवरण एक पत्रकार सम्मेलन मार्फत शुक्रबार आयव्यय सार्वजनिक गरिएको हो ।
कार्यक्रममा अभियान समूहका सदस्य प्रमोद अधिकारीले अक्सिजन ग्यास च्याम्बर योजना अन्तर्गत अस्पतालमा अक्सिजनको सम्पूर्ण पाइपलाइन विस्तार गरिएको जानकारी दिए । साथै उपचारमा आवश्यक अन्य आधुनिक उपकरणहरू समेत अस्पताललाई हस्तान्तरण गरिएको बताए । उनले हालसम्म २२ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरका उपकरणहरू अस्पताललाई उपलब्ध गराइएको बताउँदै विविध प्रशासनिक कारणले उपकरण खर्च विवरण पहिले सार्वजनिक गर्न ढिलाइ भएको र अहिले त्यसलाई पारदर्शिताका लागि सार्वजनिक गरिएको बताए ।
यस्तै उपकरण अन्तर्गत ओटी टेबलओछ्यानको छेउको लकर, स्ट्यान्ड, सक्सन मेसिन, गद्दा प्लेन बेड, ड्रेसिङ ड्रम, ओटी लाइट सेलिङ, एक्स रे भ्यू बक्स, क्युटरी मेसिन, मल्टिप्यारा मनिटर, ईसीजी, क्र्यास कार्ट ट्रली, अक्सिजन रेगुलेटर, तामाको पाइप, अक्सिजन आउटलेट लगायत विभिन्न आवश्यक उपकरहरु हस्तान्तरण गरिएको थियो ।
यस्तै प्रमोद अधिकारीका अनुसार विश्वव्यापी महामारी कोभिड–१९ को दोस्रो चरणमा युवाहरूको सक्रियतामा स्थापना गरिएको “हाम्रो गोदावरी हाम्रो अभियान“ द्वारा मालाखेती अस्पताललाई अक्सिजन कन्सन्ट्रेटरसहित विभिन्न स्वास्थ्य उपकरणहरू हस्तान्तरण गरिएको थियो । १३ जना युवाहरूको समुहले समाजप्रति उत्तरदायित्वबोधसहित अक्सिजन अभावका कारण उत्पन्न हुन सक्ने ज्यान जोखिमलाई न्यूनीकरण गर्न अभियान सञ्चालन गरेका थिए ।
उक्त अभियानअन्तर्गत अस्पतालको कोभिड वार्डमा अक्सिजन आपूर्ति गर्न कन्सन्ट्रेटर प्रदान गरिएको हो । साथै, सर्जरी कक्ष स्थापना, अक्सिजन ग्याँस पाइपलाइन विस्तार, र अस्पतालले माग गरेअनुसारका अन्य आवश्यक उपकरणहरू पनि हस्तान्तरण गरिएको टोलीले जनाएको छ ।
अस्पतालमा १६ शैय्या कोभिड वार्ड रहेको भएतापनि अक्सिजन अभावका कारण बिरामी व्यवस्थापनमा कठिनाइ भइरहेको भन्दै अभियानले आपूर्ति सहज बनाउन पहल गरेको जनाएको छ ।
