अत्तरिया : कैलालीमा एक जना मृत फेला परेका छन् । घोडाघोडी नगरपालिका–४ को श्रीराम सामुदायिक वनको ट्याङ्ना खोला किनारमा एक पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ऐलानी रामपुर निवासी ३२ वर्षीय नरेश रतोकी बुधबार दिउँसो ३ बजे शव अवस्थामा भेटिएका हुन्। घटनाबारे जानकारी पाउनेबित्तिकै सुरक्षाकर्मीहरू घटनास्थलमा पुगेका थिए।
हाल आवश्यक कानुनी प्रक्रिया र पोस्टमार्टमको तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनाको कारण हालसम्म स्पष्ट नभए पनि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले घटनास्थल वरपरका स्थानीयसँग सोधपुछसमेत गरिरहेको छ।