अत्तरिया : बाजुराको बुढीगंगा नगरपालिकाको नाम परिवर्तन हुने भएको छ । सो नगरपालिका अब बार्जु नगरपालिकामा परिणत हुने भएको हो । मङ्गलबार बुढीगंगाको १२ औं नगर अधिवेशन (सभा) ले सो निर्णय गरेको हो ।
सङ्घीय बजेट र पत्राचारमा जहिले नाम जुधेर समस्या हुने गरेको थियो त्यसैले नाम परिवर्तनको निर्णय गरेका हौ नगर प्रमुख रामबहादुर बाँनियाले बताए ।नगरपालिकाको नाम छोटोमा लेख्दा बुनपा हुने त्यसो हुँदा बाजुराकै बुढीनन्दा नगरपालिकादेखि कोशी प्रदेशको मोरडको बुढीगंगा गाउँपालिकासम्म जुध्ने गरेको थियो ।
बुढीगंगाका लागि मागिएको बजेट बुढीनन्दामा गएकाले आग्रह गरेर हामीले आफ्नोमा फिर्तासम्म गराउनु परेका उदाहरण छन् नगर प्रमुख बाँनियाले बताए ।
नगरसभाले निर्णय गरेपछि सुदूरपश्चिम प्रदेश सरकार र सङ्घीय सरकारबाट आवश्यक प्रक्रिया पूरुा गर्ने गरेर पहल गरिने उनले बताए । बुढीगंगा नगरपालिका साविकका बाह्रविस, ब्रहमतोला र कुल्देमाडौ गाविस मिलेर बनेको छ । बुढीगंगामा १० वडा रहेका छन् ।नाम परिवर्तन गर्नका लागि जेठका अन्तिम साता भएको कचहरीले समेत सल्लाह दिएको थियो । सो कचहरीमा उपस्थित प्रमुख दल नेकपा (एमाले) , नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) का मुख्य नेताहरुले नै नाम बुढीगंगाको नाम परिवर्तन गरेर बार्जु वा बार्जुकोट राख्न सुझाव दिएका थिए ।