सुदूरपश्चिम प्रदेशमा अझै बनेन विपत् प्रतिकार्य योजना

अत्तरिया : सुदूरपश्चिम प्रदेशमा मनसुनजन्य विपत् सुरु भए पनि प्रदेश विपत् प्रतिकार्य योजना भने अझै बन्न सकेको छैन । आन्तरिक मामिला मन्त्रालयले विपत् प्रतिकार्य योजना बनाउन ढिलाइ गरेको हो । यस प्रदेशमा मनसुनजन्य विपत् सुरु भइसकेको छ । सोमबार मात्रै भीषण वर्षा हुँदा कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र कञ्चनपुरको विभिन्न पालिका जलमग्न भएका थिए ।

मनसुनजन्य विपत्बाट जनताको जिउधनको रक्षा र आइपर्ने समस्या समाधानका लागि हरेक वर्ष प्रदेश विपत् प्रतिकार्य योजना अद्यावधिक गर्नु पर्दछ । यस वर्षका लागि विपत् प्रतिकार्य योजनाको सम्पूर्ण तयारीको काम पूरा भए पनि मन्त्रालयमा सचिव नहुँदा स्वीकृत गर्न बाँकी रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी दीपेन्द्रसिंह विष्टले बताए ।
उनका अनुसार मन्त्रालयले विपत् प्रतिकार्य योजनाको सम्पूर्ण काम पूरा गरिसकेको छ तर मन्त्रालयका सचिव बिरामी भई बिदामा बस्नु भएकाले कार्यकारी समितिमा पेस हुन सकेको छैन । “सचिवज्यू कामकाजमा फर्केलगत्तै हामीले यसलाई अगाडि बढाउँछौँ,” विष्टले भने, “अर्को हप्तासम्म प्रदेश विपत् प्रतिकार्य योजना अद्यावधिक हुन्छ ।”

तराई, पहाडी र हिमाली भूबनोट रहेको सुदूरपश्चिमले बर्सेनि मनसुनजन्य विपत्को सामना गर्दै आएको छ । यस प्रदेशको पहाडी क्षेत्रमा पहिरो, बाढी र तराईमा मुख्य गरी बाढी, डुबानबाट अत्यधिक मान्छे प्रभावित हुँदै आएका छन् । सरदरभन्दा बढी वर्षाको सम्भावनासमेत रहेको सुदूरपश्चिम प्रदेशमा यस वर्ष मनसुनजन्य विपत्बाट दुई लाख २७ हजार ७३० जना प्रभावित हुने प्रक्षेपण गरिएको छ । यस वर्ष मनसुनजन्य विपत्बाट ५२ हजार ११२ घरधुरी प्रभावित हुने प्रक्षेपण गरिएको विष्टले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.