अत्तरिया : दार्चुला र बाजुरामा भएको छुट्टाछुटटै घटनामा दुई जनाको मृत्यु भएको छ । बाजुराको बुढीनन्दा नगरपालिका–१ मा बेलिब्रिज पुलबाट खसेर १२ वर्षीय बालकको ज्यान गएको छ भने दार्चुलामा भीरबाट लडेर बृद्धको मृत्यु भएको हो ।
शुक्रबार दिउँसो साढे १ बजेतिर बुढीनन्दा–१ पारतोला बस्ने गणेश भण्डारीका छोरा विशाल भण्डारी नुहाउन जान्छु भन्दै घरबाट निस्किएका थिए। उनी बड्डीगाड खोलामा पर्ने बेलिब्रिज पुलबाट खस्दा गम्भीर घाइते भएका थिए।
पारतोला र जगन्नाथ गाउँपालिका–१ पिलुचौरको सिमानामा पर्ने उक्त खोलाको पुलबाट लडेको देखेपछि स्थानीयले उनलाई उद्दार गरी कोल्टीस्थित बुढीनन्दा अस्पताल लगेका थिए। तर, चिकित्सकले उनलाई अस्पताल पुर्याइएपछि मृत घोषित गरेका थिए।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस्तै, दार्चुलाको दुहुँ गाउँपालिका–२ हिकिलामा बाख्रा चराउन गएका एक वृद्धको भिरबाट लडेर ज्यान गएको छ।
शुक्रबार दिउँसो सवा १२ बजेको समयमा ५८ वर्षीय आनसिंह बडाल मुस्कुट्टे भन्ने भिरबाट लड्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। बडाल घर नजिकै रहेको जंगलमा बाख्रा चराउने क्रममा भिरबाट लडेका थिए। मृतकको शवलाई परीक्षणका लागि तयारी भइरहेको जनाइएको छ।