अत्तरिया, २२ असार : “स्वस्थ परिवार, स्वस्थ समुदाय” नारासहित गोदावरी नगरपालिकामा एक जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । राष्ट्रिय ख्रिष्टियन मण्डली महासंघ, नेपालद्वारा आयोजना गरिएको सो कार्यक्रम गोदावरी नगरपालिका–१ स्थित मिलाप बप्तिस मण्डलीमा सम्पन्न भएको हो । कार्यक्रममा सह–आयोजकको रूपमा मिलाप सेवा नेपालको सक्रिय सहभागिता रहेको थियो ।
२०८२ असार २२ गते सम्पन्न कार्यक्रममा सभाध्यक्ष देवराज भट्टको सभापतित्वमा संचालित कार्यक्रममा प्रमुख अतिथिका रूपमा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट रहेका थिए । कार्यक्रममा नै वडा नं १ का अध्यक्ष तथा नगर प्रवक्ता गोपालदत्त भट्ट, वडा सदस्य धनबहादुर कामी, मेरी मेडिकलका सञ्चालक तथा स्वास्थ्यकर्मी बलराम भट्ट, ख्रिष्टियन मण्डलीका सदस्यहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि र स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले आफ्नो सम्बोधनमा भने, “यस्ता कार्यक्रमहरूले समुदायमा सकारात्मक सोचको विकास गर्छन् । जनचेतना बढाउँछन् र स्वस्थ समाज निर्माणमा टेवा पु¥याउँछन् । नगरपालिकाले यस प्रकारका जनहितका कार्यहरूलाई सधैँ प्रोत्साहन र साथ दिँदै आएको छ, आगामी दिनमा पनि हाम्रो साथ निरन्तर रहनेछ ।”
वडा अध्यक्ष गोपाल दत्त भट्टले भने, “वडाभित्र रहेका धार्मिक संस्था र समुदायले समाजसेवामा खेलेको भूमिका प्रशंसनीय छ । यस्तो सहकार्यबाट समाजमा सशक्तिकरण र एकता प्रवद्र्धन हुन्छ ।” कार्यक्रममा स्वास्थ्यकर्मी बलराम भट्टले व्यक्तिगत सरसफाइ, औषधिको सावधानीपूर्ण प्रयोग, वातावरणीय स्वच्छता तथा रोग प्रतिरोधात्मक उपायहरूबारे उपस्थितलाई जानकारी गराउँदै स्वास्थ्यप्रति सचेत रहन आग्रह गरे ।
सम्बन्धित पाेस्टहरु