अनिल पन्त
अत्तरिया : जहाँ सेवा मनबाट हुन्छ, त्यहाँ परिवर्तनको सुरूवात अवश्य हुन्छ । लक्ष्मी बोगटी कुँवरको जीवन यही सन्देशको ज्वलन्त उदाहरण हो । संवेदनशील हृदय, सशक्त सोच र निस्वार्थ समर्पणले भरिएको उनको यात्राले सुदूरपश्चिमका कैयौं जीवनहरूमा आशा, उज्यालो र आत्मबल बोकेको छ ।
डोटी जिल्लामा जन्मिएकी र हाल कैलालीलाई आफ्नो स्थायी ठेगाना बनाएकी लक्ष्मी बोगटी कुँवर आज सुदूरपश्चिमको मात्र होइन, सम्पूर्ण नेपाली समाजको गौरव बनिसकेकी छन् । उनी सुदूरको आवाज, चेतना र मानवीय मूल्यहरूको जिउँदो प्रतीक हुन् ।
स्नातक गर्दा गर्दै उनले अस्पतालको सीमित परिधिमा आफूलाई नबन्दी, आफ्ना ज्ञान, सीप र अनुभवलाई समाजको हरेक कुनामा पु¥याउँदै साच्चैको “डाक्टर” को अर्थ दिएकी छन् । गाउँबस्तीका पीडित, विपन्न, असहाय र आवाजविहीनहरूका जीवनमा आशाको प्रकाश फैलाउँदै उनले देखाएकी छन्—सेवा भनेको चार भित्ताभित्र होइन, जहाँ दुख छ, त्यहीँ पुग्ने जिम्मेवारी हो ।
एक महिलाका रूपमा उनले नेतृत्व गर्न सकिन्छ भन्ने कुरा प्रमाणित मात्र गरेनन्, सशक्त महिला नेतृत्वको आदर्श स्थापित गरिन् । विपद्का बेला– चाहे भूकम्प होस्, बाढी होस् वा महामारी–उनको सक्रियता, सेवा र समर्पणले हजारौं जीवनमा भरोसा जगाएको छ । राहत, उपचार, पुनःस्थापना र आत्मबल दिने कार्यमा उनी सधैं अगुवा बनेकी छन् ।
लक्ष्मी बोगटी कुँवर आँसु पुछ्न पुग्छिन्, घाउमा मल्हम लगाउन जान्छिन् र जीवनमा निराशा छरिएका अनुहारहरूमा आशाको दियो बालिदिन्छिन् । सामाजिक अन्याय, विभेद र मौन पीडाका विरुद्धमा उनी दृढताका साथ उभिन्छिन् । उनी निराशाको अँध्यारोमा आशाको उज्यालो बोकेर हिँड्ने नायक हुन् ।
उनको प्रेरणा बनेको छ–आफ्नै आमाको संघर्षमय जीवन र समाजको भोगाइ, जसले उनलाई जीवनको मूल मन्त्र दिएको छ : “जहाँ आवश्यकता छ, त्यहीँ पुगेर सेवा गर्नुपर्छ ।” यस सेवाभाव र समर्पणको कदर गर्दै उनलाई थुप्रै सम्मानहरू प्रदान गरिएका छन् ।
आज लक्ष्मी बोगटी कुँवर एउटा नाम मात्र होइनन्–उनी जीवनशैली हुन् । परिवर्तनको लागि सधैं तत्पर, समाजप्रति समर्पित र नयाँ पुस्ताका लागि प्रेरणाको श्रोत हुन् । उनीजस्ता निस्वार्थ हातहरूलाई समर्थन गर्नु, सहकार्य गर्नु र सम्मान गर्नु आजको आवश्यकता हो, ताकि भोलिको समाज अझै समावेशी, न्यायपूर्ण र सम्भावनायुक्त बन्न सकोस । हामी सबैले उनीबाट सिक्न सक्ने मुख्य कुरा के हो भने–सामान्य परिवेशबाट पनि असामान्य कार्य सम्भव छन्, सेवा कहिल्यै सानो हुँदैन, र नेतृत्वका लागि पद होइन, सोच आवश्यक हुन्छ ।
सम्बन्धित पाेस्टहरु