अत्तरिया : गोदावरी नगरपालिकाले अत्तरिया क्षेत्रमा रहेको महिला तथा बालबालिका सेभ हाउस र सुदूरपश्चिम समावेशी आधारभूत विद्यालयलाई नगरपालिकाको बहुक्षेत्रीय पोषण योजना अन्तर्गत खाद्यान्न र स्वच्छता सामग्री हस्तान्तरण गरेको छ । यसले अनाथ, अपाङ्गता भएका तथा सुविधाविहीन बालबालिकाको पोषण, स्वास्थ्य र शैक्षिक आवश्यकता पूरा गर्ने लक्ष्य राखिएको छ ।
नगरप्रमुख बिरेन्द्र भट्टले सेभ हाउसकी अध्यक्ष जानकी मलासी र विद्यालयकी प्रधानाध्यापक देवी साउँदलाई १०–१० कट्टा चामल, दाल, तेल, साबुन, ब्रस, कोलगेट लगायत सामग्री हस्तान्तरण गर्दै भने, “यस्ता संस्थाहरूलाई निरन्तर सहयोग गर्ने हाम्रो प्रतिबद्धता छ । अनाथ र अपाङ्ग बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषण हाम्रो प्राथमिकतामा छ ।”
विद्यालयका संस्थापक अध्यक्ष मानबहादुर साउदले यो सुदूरपश्चिमको पहिलो र नेपालको दोस्रो समावेशी विद्यालय भएको अवगत गराए । खगेन्द्र नवजीवन विद्यालय पछिको यो अग्रणी संस्था हो, जहाँ ८० जना अपाङ्गता भएका विद्यार्थी सहित अन्य जिल्लाबाट पनि विद्यार्थी अध्ययन गर्छन् ।
हस्तान्तरण कार्यक्रममा नगरपालिकाका प्रतिनिधि, पदमा अस्पतालका डा. नरबहादुर मौनी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णु देवी बोहरा, स्थानीय वडा सदस्य डबल साउद र आरती लोहार लगायतको सहभागिता रहेको थियो । गोदावरी नगरपालिकाले पोषण, स्वच्छता, र शिक्षा जोड्ने यस अभियानलाई बहुक्षेत्रीय योजनाअन्तर्गत अगाडि बढाउने बताएको छ । यसले समाजका सीमान्तीकृत वर्गलाई सशक्त बनाउने राष्ट्रिय लक्ष्यमा योगदान दिने अपेक्षा गरिएको छ ।
सम्बन्धित पाेस्टहरु