अत्तरिया : कञ्चनपुर कृष्णपुर नगरपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क शववाहन सेवा सुरु गरेको छ। नगरपालिकाको सञ्चालनमा ल्याइएको उक्त सेवा साउन १ गते भोलीदेखि औपचारिक रूपमा लागू हुँदैछ ।
नगर उपप्रमुख द्रोपती रानाले अबदेखि नगर क्षेत्रभित्र मृत्यु भएका व्यक्तिहरूको शव अन्तिम संस्कारका लागि सहज रूपमा निशुल्क ढुवानी गर्न सकिने भएको छ।
नगर प्रमुख हेमराज ओझाले शववाहन सेवा सञ्चालन हुनु नगरबासीका लागि ठूलो राहत भएको बताउँदै भने, “हामी नगरवासीको शुख–दुःखमा साथ दिन प्रतिबद्ध छौं। यो सेवा आर्थिक अभावमा परेका परिवारका लागि उपयोगी बन्ने छ ।”
नगर उपप्रमुख द्रोपती रानाले शववाहन पूजा कार्यक्रममा बोल्दै भनिन्, “नगरपालिकाले सामाजिक न्याय र मानविय संवेदनालाई प्राथमिकतामा राखेर यो सेवा सञ्चालनमा ल्याएको हो। अब नगरवासीलाई शव ढुवानीका लागि बाहिरबाट सवारी खोज्नुपर्ने झन्झट हटेको छ ।” नगरपालिकाले चालक प्रेम जोशीलाई जिम्मेवारी दिएको छ।
शववाहन सेवा सञ्चालनसँगै नगरपालिकाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै स्थानीय नागरिकको विश्वास जित्न सक्ने अपेक्षा गरिएको छ।