अत्तरिया : कैलालीको गौरीगंगा नगरपालिकाका नगर प्रमुख देवीदत्त कडेलका स्वकीय सचिव उमेश जोशीले ‘हाकिम’लाई कुटेका छन्। गौरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उप–सचिव) धर्मानन्द जोशीलाई नगर प्रमुख कडेलका सहयोगी उमेशले कुटेका हुन्।
जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता राजकुमार सिंहले नगर प्रमुख कडेलका सहयोगी उमेश जोशीले प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीमाथि हातपात गरेका जानकारी दिए । तर, प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले प्रहरीमा जाहेरी तथा निवेदन दिएका छैनन्। इलाका प्रहरी कार्यालय, चौमालाको टोलीले बिहिवार दिनभरी प्रमुख प्रशासकीय अधिकृत जोशीको सुरक्षा गरेको छ। नगर प्रमुख देवीदत्त कडेलसहितको छलफलमा उनका सहयोगी उमेश जोशीलाई माफी दिने तयारी गरिएको छ।
नगर प्रमुख कडेल र प्रमुख प्रशासकीय अधिकृत जोशीको बिचमा समेत असार महिना भरी बोलचाल बन्द रहेको बताइएको छ। तर, नगर प्रमुखका सहयोगी जोशीले हाकिमलाई कुट्नुको कारण खुलेको छैन।