पुनर्वास नगरपालिकामा हप्ता नबित्दै उप्कियो पिच

कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिकामा निर्माण गरिएको सडक एक हप्ता नबित्दै कालोपत्रे उप्किन थालेको छ । पुनर्वास नगरपालिका–९, बिचफाँटामा निर्माण गरिएको सडकको ठाउँ ठाउँमा कालोपत्रे उप्किन थालेको हो । सुदूरपश्चिम प्रदेश सरकारको १६ करोड २६ लाख १७ हजार लगानीमा झन्डै १७ किलोमिटर सडक कालोपत्रे गरिएको थियो । कमसल सामग्रीको प्रयोग गरेर सडक कालोपत्रे गरिएको भन्दै स्थानीयले सडक मर्मत गरिनुपर्ने माग राखेका छन् ।

स्थानीय लोकराज गिरीले वडा नम्बर ९ स्थित बिचफाँटादेखि त्रिभुवन बस्तीसम्म कालोपत्रे गरिएको सडकको कालोपत्रे उप्किन थालेको बताए । सडकको मर्मत र पुनर्निर्माणका लागि ठेकेदारसँग आग्रह गरिए पनि बेवास्ता गरेको उनले बताए । ठेकेदारको चरम लापर्बाहीका कारण सडकको कालोपत्रे उप्कन थालेको स्थानीय अनिल सुनारले बताए । चालु आर्थिक वर्षको अन्तिमतिर हतार हतारमा उक्त सडकको कालोपत्रे गरिएको उनले बताए । असारको समयमा चाँडै काम सकेर भुक्तानी लिन हतार गर्दा कमसल सडक निर्माण गरिएको उनले आरोप लगाए ।
ठुला सवारीसाधन चलाउँदा उक्त सडक महिना दिनमै भत्कने भन्दै स्थानीयले सडक मर्मत, पुनर्निर्माण र गुणस्तरहिन सडक निर्माण गर्नेलाई कारबाहीको मागसमेत गरेका छन् । पुनर्वास नगरपालिकाका प्रमुख तोयप्रसाद शर्माले नागरिकस्तरबाट गुणस्तरहिन सडकबारे समयसमयमा गुनासो आउने गरेको बताए ।

नगरप्रमुख शर्माले प्रदेश सरकारले पुनर्वासमा सडक निर्माण गर्दा गुणस्तरमा ध्यान नदिएपछि स्थानीयमा आक्रोश देखिएको बताए । सडकको गुणस्तरीय मापदण्ड अनुरूप सडक निर्माणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने नगरप्रमुख शर्माले प्रतिबद्धता जनाए । निर्माण गर्नुपर्ने जिम्मा पाएको सडक कम्पनीले भने अझै सडक निर्माणको म्याद थप भएकाले मर्मत गरिने जनाएको छ । पूर्वाधार विकास कार्यालय कञ्चनपुरले आव २०७९\८० मा शङ्करजोशी जेभीलाई २०८१ असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी जिम्मेवारी दिएको थियो । असार मसान्तमा काम पूरा गर्ने जिम्मेवारी दिए पनि पुस मसान्तसम्म म्याद थप गरिएको जनाइएको छ । सडकको कालोपत्रे भत्किन थालेको भन्नु गलत भएको कार्यालयले जिकिर गरेको छ ।

स्थानीयले हातले भत्काएको तर सडक आफैँ भत्किन थालेको भन्ने गलत कुरा रहेको पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख योगेन्द्र अधिकारीले बताउनुभयो । सडकमा ठुला गाडी नचल्दा समस्या भएको उनले बताए । सडक गुणस्तरीय निर्माण भए, नभएको बारे स्थलगत अनुगमन गरिने उनले बताए । उनका अनुसार, हालसम्म उक्त सडकको ७० प्रतिशत मात्रै निर्माण भएको छ । सो सडक कहीँ कतै भत्किएको भए पुनर्निर्माणका लागि निर्माण कम्पनीलाई पत्राचार गरिएको उनले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.