झापा, १९ साउन : झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ । बैंकिङ्ग कसुर अन्तर्गत २५ लाख र राज्य विरुद्धको अपराध अन्तर्गत ३ लाख धरौटीमा उनलाई रिहा गर्न आदेश दिएको हो । बैंकिङ कसुरमा उनीविरूद्ध १८ करोड ४४ लाख रूपैयाँ बिगो थियो । चैत्र १५ गतेको ध्वँसात्मक राजावादी आन्दोलनको नेतृत्वकर्ताको आरोप लागेका प्रसाईको ५ दिनदेखि निरन्तर सुनुवाइहुँदै आएको थियो । जेठ २९ गते दुर्गा प्रसाईंसहित ७ जनालाई जिल्ला अदालतले थुनामा पठाउन आदेश गरेको थियो ।
न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले जिल्ला अदालत काठमाडौँको यसअघिको आदेश उल्टाउँदै धरौटीमा रिहा गर्न आदेश दिएको हो । जिल्ला अदालतले थुनामा राखी मुद्दाको बाँकी कारबाही गर्न आदेश दिएको थियो । उच्च अदालतले प्रसाईसहित चार अभियुक्तलाई उच्च अदालतले बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्ने मौका दिएको हो ।
त्यस घटनामा ३२ जनालाई भने जिल्ला अदालतले नै धरौटीमा रिहा गरेको थियो । यस घटनामा विभिन्न कसुरमा ६५ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो । प्रसाईँलाई लगाइएको मध्ये राज्यविरुद्धको कसुर, ज्यानसम्बन्धी कसुर, ज्यान मार्ने उद्योग र संगठित अपराधतर्फ कसुरदार नदेखिएको यसअघि जिल्ला अदालतले भनेको थियो । आपराधिक उपद्रवमा संलग्नता देखिएको भन्दै थुनामा पठाउन आदेश दिएको थियो ।
सम्बन्धित पाेस्टहरु