अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले अत्तरिया–धनगढी ६–लेन सडक खण्डमा वृक्षारोपण अभियानलाई तिब्रता दिएको छ । सडकको मिडियम र फुटपात क्षेत्रमा तारजाली ट्रीगार्ड सहित विभिन्न प्रजातिका बोटबिरुवा रोप्ने अभियानलाई तिब्रता दिएको हो । शुक्रबार मेयर विरेन्द्र भट्ट आफै उपस्थिति भएर अभियानमा सहभागि भए । उनले रोपीएका विरुवाको संरक्षण गर्न सम्पूर्ण नगरवासीलाई आग्रह समेत गरेका छन् ।
सडक बत्ती जडान गर्ने र सडकको सौन्दर्यीकरण गर्ने कार्यलाई नगरपालिकाले तीव्रता दिएको छ । यस अघि पनि नगरपालिका सहित विभिन्न संघ संस्थाहरुले समेत मिडियन क्षेत्रमा वृक्षारोपण गरेको थियो । फुटपात क्षेत्रमा भने अहिले सुरु गरेको हो । सडक क्षेत्रमा मात्र होइन अन्य सार्वजनिक ठाउँमा पनि वृक्षारोपण भईरहेको छ ।
नगरपालिकाका अनुसार अत्तरिया देखि गेटा सम्मको क्षेत्रमा कपुर, गोल्ड मोहर, छविवन, घण्टेश्वरी, गुलाब, सिरोज, फ्लावरिङ्ग केक्टस, धुपी, एक्जारो गोल्ड मोहर, सीता असोक, बिरेन्द्र फूल, कञ्जु गुलाब, म्याङ्गो स्ट्रिम लगायत सडकलाई असर नपर्ने जातका विरुवा रोपिँदैछन् ।
नगर प्रमुख बिरेन्द्र भट्टका अनुसार, विगतमा ‘प्लानेट ग्रिन नेपाल’ संस्थाले केही वृक्षारोपण गरेको भए पनि धेरै स्थान खाली रहेका थिए । त्यस कारण यसपटक तारजालीसहित विरुवा रोप्ने मात्र नभई टि–गार्डमार्फत संरक्षणको व्यवस्थासमेत गरिएको छ । उनले भने, “स्वच्छ र सफा नगरका लागि वृक्षारोपण आवश्यक छ । तर, विरुवा जोगाउन स्थानीयको सक्रिय सहयोग अपरिहार्य छ ।”
नगरपालिकाले पुरानो मलिलो नभएको माटो फेरेर नयाँ मलिलो माटो, जैविक मलसहित वृक्षारोपण गरिरहेको हो । यसअघि सडक बत्ती जडान गर्ने योजना विभिन्न कारणले रोकिए पनि यसपटक भने सफलतापूर्वक जडान भएको र केही दिनमै झिलिमिली सडक बत्ती बालिने नगर प्रमुख भट्टको भनाई रहेको छ । सडक बत्ती जडानका लागि पोल र बत्ती जडानको कार्य अन्तिम चरणमा पुगाएको छ ।
स्थानीयवासी र समाजका प्रतिनिधिहरूले यो अभियानलाई स्वागत गरेका छन् । कांग्रेसका युवा नेता हरि भट्टराईले यसलाई वातावरणमैत्री सडक निर्माणतर्फको महत्वपूर्ण कदम भन्दै प्रशंसा गरे । उनले भने, “यो केवल चर्चाको लागि मात्र होइन, दीर्घकालीन संरक्षण र रेखदेखसमेत गर्नुपर्छ ।”
नगरपालिकाले ‘क्लिन गोदावरी, ग्रीन गोदावरी’ अभियान अन्तर्गत वृक्षारोपणसँगै प्लास्टिक झोला निषेधको नीति पनि लागू गर्दैछ । ६ लेन सडक थप सुन्दर बनाउनका लागि विरुवा रोप्ने काम नगरले गरे पनि संरक्षण गर्ने जिम्मा स्थानीयहरुको रहेको छ ।
सम्बन्धित पाेस्टहरु