अत्तरिया : कैलाली कारागारको जिम्मेवारी जालन्धर भुसालले पाएका छन् । १ जनाको मृत्यु तथा चार दर्जन घाइते हुनेगरि झडप हुँदा कैलाली जिल्ला कारागारमा प्रमुख थिएनन् । अधिकृतको दरबन्दी रहेको कारागार खरिदारले चलाइरहेका थिए ।
अधिकृत वसन्त खत्री झन्डै तीन सातादेखि अस्वस्थ भएको भन्दै सुब्बा ज्ञानेन्द्र ओझालाई जिम्मेवारी दिएका थिए । सुब्बाले पनि केही दिन पहिले खरिदार रामकुमार चौधरीलाई जिम्मेवारी दिएर आफू कारागार आउन छोडे । खरिदारको नेतृत्वमा रहेको बेला कारागारमा ठुलो झगडा भयो । त्यसमा कैलाली धनगढी ४ का ३६ बर्षीय भरत चौधरीको मृत्यु भयो ,४९ जना घाइते भए ।
अधिकृत र सुब्बा पनि नभएपछि आलोचना बढेको थियो । यस्तो बेला तत्काललाई भुसाललाई जेलरको रूपमा पठाइएको हो । भुसाल शनिबार नै कैलाली पुगेर आफ्नो कार्यभार सम्हालेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।