पुरानै लयमा फर्कीदै कैलाली कारागार

अत्तरिया : कैलाली कारगारको लफडा विस्तारै साम्मे हुँदै गएको छ । शुक्रबार राति भएको दुई समुहको कुटाकुटपछि आईतबार दिउँसोबाट साम्मे हुँदै गएको छ । कारगारको थुनुवा कक्षमा कोहि पनि प्रवेश गर्न नसकेको अवस्थामा आईतरबार ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर त्यहा भएको कैदीबन्दीको संख्या एकीन गराएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा मानवअधिकारको टोली कैदीबन्दी रहेको थुनुवा कक्षमा प्रवेश गरी कैदीबन्दीको संख्या एकीन गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
आइतबार साझ तिर कारागारमा सशस्त्र प्रहरी नेपाल प्रहरी र मानव अधिकार आयोगको टोलीले कैदीबन्दीको गणना गरेको हो । गणनाका क्रममा सबै कैदीबन्दी भेटिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।
कारागारमा ७ सय कैदीबन्दी रहेका थिए । त्यसमध्ये गणनाका क्रममा कारागारभित्र ब्लक ‘ए’ मा ३९६, ‘बी’ मा १९८ र महिला ५६ गरी छ सय ५० कैदीबन्दी एकिन गरिएको तथा एक जनाको मृत्यु भएको थियो भने ४९ घाइते छन् ।
घाइतेमध्ये एक जनालाई शनिबार नेपाली सेनाको स्काई ट्रकमार्फत थप उपचारका लागि काठमाडौं पठाइएको छ भने बाँकी धनगढीस्थित सेती प्रादेशिक अस्पतालअन्र्तगतको कोरोना उपचार गृहमा उपचार भइरहेको छ । आईतबार नै कारागारमा भएको घटनाको झन्डै ४२ घण्टा पछि सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले सुरक्षा संयन्त्रको बैठक बसेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीसहित चार वटै सुरक्षा निकायका प्रमुखहरूको बैठक सम्पन्न भएको हो ।
प्रदेशमा ठुला घटना हुँदा पनि मुख्यमन्त्रीले चासो नदिएको आरोप लागिरहेका बेला आइतबार साँझ मुख्यमन्त्रीले सुरक्षा संयन्त्रको बैठक राखेका हुन् । कानून मन्त्रीसहित सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डम्मर विक, सशस्त्र प्रहरी प्रमुख प्रदीप पाल, नेपाली सेनाका पृतनापति प्रकाश देउजा कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमाल अनुसन्धानका प्रदेश प्रमुखसहितका अधिकारीहरू बैठकमा सहभागि भएका हुन ।
मानव अधिकार आयोग सुदूरपश्चिम प्रमुख प्रकाश भट्ट पनि बैठकमा केही बेर सहभागी थिए । उनले कारागारको अवस्थाबारे जानकारी गराएका थिए । धनगढीमै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय छ । मुख्यमन्त्रीको कार्यालय र क्वाटर पनि धनगढीमै छ । तर, घटना भएको लामो समयसम्म पनि मुख्यमन्त्रीले चासो नदिएको आरोप छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भने मुख्यमन्त्रीले यस विषयमा चासो राखेको दाबी गरेको छ । ‘मुख्यमन्त्री ज्यू काठमाडौंमा हुनुहुन्थ्यो उहाँले त्यही गृहमन्त्रीलाई भेटेरै घटनाबारे जानकारी गराउँदै तत्काल कदम चल्न भन्नु भएको थियो’ मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले भने, ‘घाइतेहरूको उद्धारको लागि पनि उहाँले पहल गर्नु भएको हो ।’
झडपपछि कैलाली कारागारमा आफन्त भेट्नेको भीड
कारागारमा कैदीबिच हिंसात्मक झडपपछि कैद भुक्तान गरिरहेका आफ्ना मान्छे भेट्न आउने आफन्तको कारागारमा भीड लागेको छ ।
आईतबारबाट कारागार प्रशासनले आफन्तलाई कैदीसँग भेटघाट र कुरा गर्न दिएपछि आफ्ना मान्छेको अवस्था बुझ्न आउने आफन्तको भीड लागेको हो । आफन्तले शनिबार पनि भेटघाट गरेका थिए ।
घटनापछि आफ्ना व्यक्ति भेट्न आउने आफन्तको कारागारमा लाइन नै लागेको थियो । कारागारभित्र कैदीबिच हिंसात्मक झडप भएको थाहा पाएपछि छोराको अवस्था बुझ्न डोटीबाट आएको जोरायल गाउँपालिका–१ घन्टेश्वरका कमलबहादुर विकले बताए । “युट्युबमा हेरेर घटनाको बारेमा थाहा पाएपछि अवस्था बुझ्न धनगढी आएँ”, उनले भने, “छोराको अवस्था के छ, कस्तो छ, केही थाहा छैन ।”
कारागारबाट कैदी सरुवापछि कैदीबिच मनमुटाव बढेको उनीहरुका आफन्तहरुको जिकिर छ । कैलालीको गोदावरी नगरपालिकास्थित गेटाका सिद्धराज भट्टले कैदीका नाइके अशोक रावलको सरुवापछि भित्र अशान्ति मच्चिएको जिकिर गरे । “अशोक बाबु नाइके हुँदा भित्र सबैकुरा ठीकठाक चल्दै थियो । उनले सबैलाई मिलाएर राखेका थिए”, उनले भने, “अशोकको दाङ सरुवा भएपछि यहाँ अशान्ति भइरहेको छ ।”

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.