अत्तरिया : गत बिहीबार कारागार प्रशासन कैलालीले तीन जना कैदीबन्दीलाई भीमफेदी कारागार मकवानपुर सरुवा गर्यो । अदालतमा पेसीका लागि लैजाने भनेर तीन जनालाई सुटुक्क अन्यत्र कारागार सरुवा गरिएको आरोप कैदीबन्दीले लगाए ।
कैदीबन्दीले भनेजस्तै भुपेन्द्र बडुवाल हत्या आरोपितहरूको पेसी २२ साउनमा थियो । त्यसका लागि प्रहरीले १४ जनालाई अदालत उपस्थित गराएको थियो । न्यायाधीश दण्डपाणि लामिछानेको इजलासमा बयान र बकपत्र तोकिएको थियो । त्यो काम सकिएपछि जयन्द्र शाह समूहका व्यक्ति भनिएका कपिल श्रेष्ठसहित तीनजनालाई कैलाली कारागारबाट सरुवा गर्दै भीमफेदी लगियो । स्रोतका अनुसार बाँकी ११ जनालाई भने प्रहरीले हिरासतमा राख्यो ।
एउटा समूहलाई यो कारागार सरुवा मन परेको थिएन । यसअघि पनि कारागार प्रशासनले पटक–पटक नन्दु सरकार (नन्दु स्वाइड) समूहका व्यक्तिहरूको कारागार सरुवा गर्दै आएको थियो । कैलाली क्षेत्रमा गुण्डागर्दी गर्दै आएको आरोप लागेका नन्दु सरकारका मुख्य नवीन रावल समेतलाई यसअघि कैलाली कारागारबाट सरुवा गरिएको थियो । पटक–पटक आफ्नो समूहका व्यक्तिलाई सरुवा गरेको भन्दै यो समूहले चिढियो ।
पेसीका लागि लगिएको भनिएका व्यक्ति फर्किनन् । अनि शुक्रबार दिउँसोबाटै कारागारमा आतंक सिर्जना भयो । प्रहरी उच्च स्रोतका अनुसार हिरासतमा लगिएका केही व्यक्तिसँग सोधपुछ गरेपछि प्रहरीले कारागार लग्यो ।
कैलाली कारागारमा तीनवटा ब्लक छन् । ए र बी ब्लकमा पुरुष कैदीबन्दी र सी ब्लकमा महिला कैदीबन्दी बस्दै आएका छन् । अहिले भएको झडप ए र बी ब्लकका कैन्दीबन्दीहरूको हो । बी ब्लकका कैदीबन्दीको सरुवा र केहीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएपछि खचाखच भरिएको कारागार केही खुकुलो भयो ।
बी ब्लकका कैदीबन्दी घटेको भन्दै ए ब्लका केही कैदीबन्दीलाई बी ब्लकमा सारियो । ‘हाम्रो समूहका व्यक्ति सरुवा गर्ने । अनि ए ब्लकका कैदीबन्दी हाम्रोमा सार्ने’ भनेर बी ब्लकका कैदीबन्दी चिढिए ।
२८ असारमा मात्रै बी ब्लकका कैदीले ए ब्लकका कैदीलाई आक्रमण गरेको आरोप थियो । पहिलाको तुष कायमै रहेको अवस्थामा कैदीबन्दीको सरुवा भएपछि शुक्रबार दिउँसो १२ बजेतिरबाट सुरु भएको तनावको यो श्रृंखला मध्यरातमा पुग्दा रणमैदानमा परिणत भयो । ए ब्लकका कैदीले बी ब्लकमा आक्रमण गर्ने र बी ब्लकका कैदीले एक ब्लकमा आक्रमण गर्ने श्रृंखला चल्यो । पर्खाल समेत फोडेर ढुंगा हानाहान भयो ।
यो बीचमा प्रशासन भने रमिते बन्यो । कारागारमा सुरक्षार्थ खटिएको प्रहरीदेखि कारागार प्रशासन हेर्ने जिम्मेवारी पाएको कारागार कार्यालयको भूमिका सक्रिय देखिएन । परिणाम एकजना कैदीको (भरत चौधरी) ज्यान गयो, ४९ जना घाइते भए । दुईजनाको अवस्था चिन्ताजनक छ । सुरक्षाकर्मीको नियन्त्रणबाहिर रहेको कैलाली कारागारको अवस्था विस्तारै सुधारोन्मुख रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी तथा प्रवक्ता राजुकमार सिंहले बताए । ‘अवस्था अहिले नर्मल हुँदै गएको छ । प्रारम्भिक अवस्था बुझ्ने कामहरू भइरहेका छन्,’ डीएसपी सिंहले भने ।
यो अवस्थामा सिर्जना हुनुमा कारागारभित्र आफ्नो प्रभुत्व कसले जमाउने भन्ने विषयसँग जोडिएको घटनालाई नजिकबाट नियालेका एक सुरक्षा अधिकारी बताउँछन् ।
‘कैलाली क्षेत्रमा हुने गरेका गुण्डागर्दी र त्यसमा आबद्ध व्यक्ति कारागार चलान हुनु र कारागारभित्रै विभिन्न ग्याङ बनाएर प्रभुत्व जमाउन खोज्दा यो अवस्था निम्तिएको हो,’ एक अधिकृत भन्छन्, ‘हिजो बाहिर रहेका समूहहरू प्रहरीको कारबाहीपछि कारागार पुगे र अहिले उनीहरूले कारागारभित्र पनि त्यस्तै प्रभुत्व जमाउन खोज्दा यो अवस्था आएको हो ।’
ती अधिकृतले भनेजस्तो कैलालीमा पछिल्लो समय चारवटा समूहका नाममा गुण्डागर्दी हुँदै आएको छ । जसमा जयन्द्र शाह समूह, नन्दु सरकार (नन्दु स्वाइड), कोब्रा सरकार र इगल समूह सक्रिय छन् । तीमध्ये अहिले नन्दु सरकारका धेरै मान्छेहरू भुपेन्द्र बडुवाल हत्याकाण्डमा जोडिएर कारागार चलान भएका छन् ।
जयन्द्र शाह समूहका पनि केही व्यक्ति कारागार छन् । सानो रूपमा देखिएका कोब्रा सरकारले नन्दु सरकारलाई सहयोग गर्दै आएको छ । इगल समूहले भने प्रभाव जमाइसकेको अवस्था छैन । मुख्य गरी नन्दु सरकार र जयन्द्र शाहको समूहबीच टकराव चल्दै आएको प्रहरी अधिकारीहरू बताउँछन् ।
जयन्द्र शाह भने आफ्नो कुनै समूह नरहेको र आफू व्यवसाय गरेर बस्दै आएको दाबी गर्छन् । यी दुई समूहका साथै अन्य व्यक्तिले समेत कारागारभित्र आफ्नो प्रभुत्व जमाउन खोज्दा द्वन्द्व बढ्दै गएको र त्यसको परिणाम शुक्रबारको घटना रहेको स्रोत बताउँछ । यद्यपि, यो विषय छानबिनकै क्रममा रहेकाले अहिले नै घटनाको कारण किटान गर्न सक्ने अवस्था नरहेको छानबिन समितिका संयोजक तथा कैलालीका सहायक सीडीओ किरण जोशी बताउँछिन् ।
‘घटनाबारे बुझ्ने काम सुरु गरेका छौं । पहिल्यै निवेदन पनि आएकाले कहाँ सुरक्षा कमजोरी भएछ भन्ने हेर्छौं । तर अहिले नै यो कारणले घटना भयो भन्ने अवस्था छैन,’ उनले भनिन् । यसअघि २८ असारमा पनि यो कारागारमा झगडा भएको थियो । त्यसअघि नाइके खगेन्द्र बोगटी कारागारभित्रै कुटिएका थिए । प्रशासनले उनलाई कसले कुट्यो भनेर नबताए पनि जयन्द्र शाह समूहका कपिल श्रेष्ठले कुटेको आरोपमा नन्दु सरकार समूहका मान्छेले लगाएका छन् ।
कारागारभित्र मुख्यगरी यी दुई समूहबीच झगडा र टकराव हुन थालेपछि प्रशासनले धमाधम सरुवा गरेको थियो । त्यसपछि यी समूहहरू छिन्नभिन्न भएर कमजोर भएका थिए । यी समूह कमजोर भएपछि अन्य व्यक्तिले कारागारमा आफ्नो प्रभुत्व जमाउन खोजे । ‘प्रभुत्व जमाउन खोज्ने समूहबीचकै इगो र झगडाले अहिलेको अवस्था आएको हो,’ एक अधिकृतले भने ।
प्रहरीका अनुसार जयन्द्र शाह समूहका भनिएका व्यक्ति भुपेन्द्र बडुवालको २३ कात्तिक २०७८ मा हत्या भएपछि नवीन रावल नेतृत्वको नन्दु सरकार समूहका १९ जना कारागार चलान भएका थिए । जो अहिले पनि कारागारमै छन् । नन्दु सरकारका धेरै व्यक्ति कारागारमा रहे पनि बाहिर आक्रमण भने रोकिएन । त्यसको पछिल्लो उदाहरण गत १५ जेठमा टीकापुरमा कफी पिइरहेका एक व्यक्तिमाथि खुकुरी प्रहार भएको थियो ।
खुकुरी प्रहारमा संलग्न व्यक्ति र कारागारमा रहेका नन्दु सरकारका मान्छेसँग कनेक्सन देखिएको थियो । त्यसपछि कैलाली कारागारमा रहेका नन्दु सरकारका धेरै कैदीबन्दीको सरुवा गरिएको थियो । ३ असारमा कैलाली कारागार प्रशासनले नन्दु सरकारका महेश रावल, रोशन शाही, रोहित आले, अशोक रावललाई दाङ कारागारमा सरुवा गरेको थियो । त्यतिबेलै कैलालीबाट बर्दिया कारागारमा सन्तोष भनिने सविनजंग शाही, प्रवीण रिमाल, सोहन शाह, विकास शेरचन, धिरज भनिने दीपेन्द्र शाही सरुवा भएका थिए ।
नवीन रावल, अनुज भनिने चिरञ्जीवीजंग शाही, हिमाल शाही र हेमन्तबहादुर शाही दैलेख कारागारमा सरुवा भएका थिए । आफ्नो समूहका व्यक्तिलाई सुटुक्क कारागार सरुवा गरिएको भन्दै यो समूह चिढिएको थियो । जुन कुरा कैदीहरूले मानव अधिकार आयोगलाई लेखेको पत्रबाट समेत थप प्रष्ट हुन्छ ।
‘कानुन र प्रक्रियाबमोजिम गरिने स्थानान्तरणको विषय परिवारका सदस्यलाई समेत जानकारी नदिई रातिराति स्थानान्तरण गरियो,’ कैदीबन्दीका तर्फबाट आयोगलाई लेखिएको पत्रमा उल्लेख छ । घाइते हुनेहरूको सूचीमा प्रहरीले केही समयअघि गोली हानेर पक्राउ परेका व्यक्तिसमेत छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीको विशेष टोलीले २८ जेठमा गोली चलाएर रिदम ढुंगाना र मिलन चन्दलाई पक्राउ गरेको थियो । ज्यान मार्ने उद्योगको आरोपमा फरार रहेका उनीहरूलाई पक्राउ गरेर कार्यालय ल्याइँदै थियो । भजनी गाउँपालिका ७ मा आएपछि पिसाब फेर्ने निहुँ बनाएर भाग्न खोजेको भन्दै प्रहरीले गोली हान्यो । उनीहरू गत १५ जेठमा टीकापुर नगरपालिका १ का एक व्यक्तिमाथि खुकुरी हानेको घटनामा पक्राउ परेका थिए । अदालतको आदेशपछि पुर्पक्षका लागि कारागार चलान भएका उनै मिलन अहिले घाइते भएका छन् ।
उनीहरू नन्दु सरकार समूहमा आबद्ध रहेको प्रहरीको भनाइ छ । विगतका घटनाहरूको दुश्मनी र त्यसको बदला लिन आक्रमणमा उत्रिने गरेको प्रहरीले बताउँदै आएको छ । त्यतिबेला खुकुरी खाने व्यक्ति कैलालीमै रहेको जयन्द्र शाह समूहमा आबद्ध रहेको प्रहरीको भनाइ छ । त्यसैको बदलामा नन्दु सरकार समूहका व्यक्तिले आक्रमण गरेको प्रहरी स्रोत बताउँछ ।
पछिल्लो समय कैलालीमा जयन्द्र शाह र नन्दु सरकार (नन्दु स्वाइड) समूह बनाएर गुण्डागर्दीमा संलग्न रहँदै आएका छन् । ठेक्कापट्टा र चन्दा असुलीबाट उदाएको यो समूह पहिले एउटै थियो । पछि फाटो आएपछि दुई समूहमा विभक्त भएको थियो । त्यसपछि सुरु हुन थालेको दुश्मनी अहिलेसम्म पनि निरन्तर रहेको एक प्रहरी अधिकारी बताउँछन् ।
कैलाली कारागारमा करिब डेढ महिनाअघि पनि एक व्यक्तिको पनि रहस्यमय मृत्यु भएको थियो । बैंकिङ कसुरको मुद्दामा दोषी ठहर भएका डडेल्धुरा भागेश्वर गाउँपालिका ५ का २८ वर्षीय हरिसिंह पालीको २ असारमा कैलाली कारागारमा मृत्यु भएको हो ।
२९ जेठमा पक्राउ परेर कारागार पठाइएका पाली मृत्यु घटनामा अहिले नेपाल प्रहरीका असई नै पुर्पक्षका लागि कारागारमा छन् । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत असई हरिजित नाथलाई अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएसँगै उनी कारागारमा छन् ।
राति एक्कासि बिरामी परेको भन्दै पालीलाई सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो । अस्पताल पुर्याएको केही समयमै उनको ज्यान गयो । असई नाथबाटै हत्या भएको आरोप लगाउँदै परिवारले जाहेरी दिए । नाथविरुद्ध जाहेरी दिनुको पछाडि पालीलाई कारागार पुर्याउने पनि उनै थिए । उनैले दिएको जाहेरीको आधारमा पालीलाई २ लाख जरिवाना र १० कैदको सजाय सुनाइएको थियो ।
पालीको मृत्यु भएपछि पोष्टमार्टम रिपोर्टमा समेत शरीरमा चोटपटक रहेको भन्ने उल्लेख भएपछि असई नाथ कारागार चलान भए । यो घटनाको छानबिनका लागि पनि त्यतिबेला सहायक सीडीओ किरण जोशीकै नेतृत्वमा समिति बनाइएको थियो । उक्त समितिले समेत कुटपिट भएको देखिएको भन्ने रिपोर्ट दिएको थियो ।
डेढ महिनाको अवधिमा पाली र चौधरी गरी दुईजनाको कैलाली कारागारभित्रै ज्यान गएको छ । करिब ५० जना घाइते छन् । तीमध्ये २ जनाको अवस्था अहिले पनि गम्भीर रहेको बताइन्छ । पटकपटक कारागारभित्र झडप हुँदा त्यहाँ रहेका कैदीबन्दीहरू असुरक्षित हुँदै आएका छन् । ३१ असार २०८० मा पनि कैलाली कारागारमा अनुगमन गर्न गएका प्रहरीमाथि कैदीबन्दीले आक्रमण गरेका थिए । त्यतिबेला कैदीबन्दीहरूले कारागारभित्रै मोबाइल चलाएको पाइएको थियो । १५ थान मोबाइल र ३३ थान चार्जर एक लाख ४ हजार भारु समेत बरामद भएको थियो ।
२२ जेठ २०८० मा कारागारभित्रै मदिरा र लागुऔषध बिक्री हुने गरेको पाइएको थियो । मदिरा पिएर झगडा गरेपछि यो विषय बाहिर आएको थियो । त्यसपछि १६ कैदीबन्दीको सरुवा गर्नुको साथै कारागार सुरक्षा प्रमुख पनि फेरिएका थिए । योभन्दा अघि जेलभित्रै लागुऔषध कारोबार भएको पाइएपछि १९ माघ २०७९ मा प्रहरी र जेलरको जिम्मेवारी खोस्दै अन्यत्र सरुवा गरिएको थियो ।
यो घटनाबारे कारागार प्रशासनदेखि त्यहाँको सुरक्षाका लागि खटिएको टोली, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, कारागार व्यवस्थापन विभाग, गृहमन्त्रालय, प्रधानमन्त्री कार्यालयसम्म जानकार थिए । कारागारभित्रै विभिन्न समूहका नाममा अवैध गतिविधि, धम्की, लागुऔषध कारोबारसम्मका हुने गरेको र आफूहरू असुरक्षित रहेको भन्दै ५९० कैदीबन्दीले १४ साउनमा राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका थिए ।
आयोगको सुदूरश्चिम प्रदेश कार्यालय धनगढीमा निवेदन आएपछि आयोगले १९ साउनमै आवश्यक पहल गर्न भन्दै जिल्ला कारागार कार्यालयलाई पत्र लेखेको थियो । पत्र प्रधानमन्त्री कार्यालयसम्मलाई समेत बोधार्थ दिइएको थियो । आयोगकी मानव अधिकार अधिकृत मन्दिरा श्रेष्ठको हस्ताक्षर गरेको उक्त पत्रमा भनिएको छ, ‘निवेदनमा जिकिर गरिएअनुसार आन्तरिक सुरक्षाका लागि त्यहाँ कार्यालय, मातहत निकाय, कर्मचारी तथा तालुक कार्यालय र सरोकारवाला निकायसँग के(कस्तो प्रशासनिक र समन्वयतात्मक कार्यहरू सम्पन्न भएका छन् रु पत्र प्राप्त भएको मितिले १५ दिनभित्र आयोगको यस कार्यालयमा उपलब्ध गराउनू र निर्देशनअनुसारको काम कारबाही गर्नू ।’
कारागारभित्र बेथिति र असुरक्षा बढेको पूर्वजानकारी हुँदासमेत प्रशासन निरीह देखिएको छ । जबकि, यस घटनामा गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई जानकारी गराइएको थियो । यति हुँदाहुँदै सुरक्षा संवेदनशिलतालाई ख्याल नराख्दा ठूलो दुर्घटना भएको देखिन्छ । प्रधानमन्त्री कार्यालयसम्म घटनाको पूर्वजानकारी गराए पनि समयमै इन्टरभेन्सन नहुनु ठूलो कमजोरी रहेको पूर्वडीआईजी हेमन्त मल्ल ठकुरीको बुझाइ छ । ‘आयोगले पहिल्यै पत्रसमेत पठाएको रहेछ । तर प्रशासन चनाखो भएको देखिएन । यसमा राज्यको ठूलो कमजोरी देखिन्छ,’ उनले भने । अनलाइनदबरबाट साभार ।