अत्तरिया : धनगढीमा घर-घरमा पुगेर तरकारी बिक्री गर्ने किसानलाई सम्मान गरिएको छ । कृषि ज्ञान केन्द्र कैलालीले घर-घरमा पुगेर स्वच्छ तरकारी बिक्री गर्ने किसानलाई सम्मान गर्दै उनीहरूलाई आवश्यक पर्ने सामाग्री समेत वितरण गरेको छ ।
केन्द्रले बुधवार आयोजना गरेको कार्यक्रममा सुदूरपश्चिम भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिरबहादुर थापाले किसानलाई सम्मान गर्दै सामाग्री हस्तान्तरण गरेका हुन् । मन्त्री थापाले किसानलाई ३० जना किसान महिलालाई साइकल र तरकारी तौल गर्ने तराजु पनि प्रदान गरे । कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले घर दैलोमै पुगेर तरकारी बेच्दै आएका ३० जना महिला किसानहरुलाई सम्मान तथा साईकल, तराजु र तरकारी राख्ने भाडा उपलव्ध गराइएको बताए ।
उनकाअनुसार कृषि ज्ञान केन्द्रले सूचना जारी गर्दै आवेदन माग गरेको छ । उक्त सूचनमअनुसार ७० जनाले निवेदन दिएका थिए । उनीहरू मध्ये ३० जना महिलालाई छनोट गरिएको थियो । उनीहरू मध्ये २४ जना एकल महिला, एक जना दिर्घरोगी र ५ जना विपन्न महिलाहरुलाई छनोट गरिएको थियोे । केन्द्रले किसानहरूलाई सम्मान स्वरुप परिचय पत्र समेत प्रदान गरेको र आगामी दिनमा यो कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।