अत्तरिया, ३ भदौ : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गेटा अस्पतालमा सञ्चालनमा आएको इमर्जेन्सी सेवाको भोली (मंगलबार) औपचारिक रुपमा उद्घाटन गर्ने भएका छन् । मन्त्री पौडेल डोटी र डडेल्धुरामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन आउने क्रममा दिउँसो गेटा अस्पताल पुगेर इमर्जेन्सी सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार इमर्जेन्सी सेवाको मात्र उद्घाटन हुने हो, तर केहीले अस्पताल नै उद्घाटन गर्न लागिएको गलत जानकारी फैलाएको बताए । उनले भने, “यहाँ मिसकम्युनिकेसन भयो । अस्पताल त २०८० सालमै सञ्चालनमा आइसकेको हो । अहिले हामी इमर्जेन्सी सेवाको औपचारिक उद्घाटन मात्र गर्दैछौं ।”
गएको जेठ ११ गतेदेखि गेटा अस्पतालले इमर्जेन्सी सेवा सुरु गरेको हो । सेवामा हाल १० वटा बेडसहितका सुविधा उपलब्ध छन् । इमर्जेन्सी सेवाको सुरुवातसँगै आकस्मिक उपचारमा सहजता आउने अपेक्षा गरिएको छ । अस्पतालमा दैनिक करिब २ सय बिरामी आउँछन् । तीमध्ये धेरैजसो सामान्य स्वास्थ्य जाँचका लागि आउँछन् भने केही आकस्मिक बिरामी पनि हुने गरेको अस्पतालले जनाएको छ । गेटा अस्पताल प्रदेशकै महत्वपूर्ण स्वास्थ्य संस्था भएकाले इमर्जेन्सी सेवाको विस्तारले सुदूरपश्चिमका नागरिकलाई थप राहत मिल्ने विश्वास गरिएको छ ।
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिले असन्तुष्टि जनाएको छ । विश्व विद्यालयको ऐन आईसकेको अवस्थामा स्वास्थ्य मन्त्री इमर्जेन्सी सेवाको उद्घाटन गरेर नाटक मञ्चन नगर्न आग्रह गरेको छ । अर्बौका निर्माणका संरचना अलपत्रमा पारेर अहिले आफ्नो स्वार्थ पुरा गर्ने काम नगर्न संघर्ष समितिका संयोजक लोक राज पाण्डे ‘आगो’ ले चेतावनी दिए ।
सम्बन्धित पाेस्टहरु