गेटा आँखा अस्पतालबाट एक बर्षमा दुई लाख ८० हजारले लिए सेवा

अत्तरिया : कैलालीको गेटा आँखा अस्पतालबाट गत आर्थिक वर्ष २०८१\८२ मा दुई लाख ८० हजार जना आँखासम्बन्धीका बिरामीले बहिरङ्ग (ओपिडी) सेवा लिएका छन्।
गेटा आँखा अस्पताल र सोही अस्पतालअन्तर्गत रहेका आँखा अस्पताल र आँखा उपचार केन्द्रहरूबाट दुई लाख ८० हजार १५ जनाले आँखासम्बन्धी विभिन्न समस्या भएका बिरामीले ओपिडी सेवा लिएको गेटा आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत एवं सूचना अधिकारी गोविन्दप्रसाद जोसीले बताए। जसमध्ये २२ हजार २७३ जनाको शल्यक्रिया गरिएको उनले बताए।
आँखा अस्पतालले सुदूरपश्चिमका नौवटै जिल्लामा निःशुल्क आँखा शिविर पनि सञ्चालन गरेको थियो। त्यस क्रममा १८ वटा सर्जिकल क्याम्पहरू सञ्चालन गरिएकामा ओपिडी सेवा लिएका १० हजार ५७३ जनामध्ये दुई हजार ५२ जना आँखासम्बन्धी बिरामीको निःशुल्क शल्यक्रिया गरिएको सूचना अधिकारी जोसीले बताए। त्यस्तै २१७ वटा ‘स्पोट स्क्रिनिङ क्याम्प’ गरेर २३ हजार ८६५ जनाको आँखा जाँच गरिएको थियो।
गेटा आँखा अस्पतालले गत आवमा विद्यालय आँखा जाँच कार्यक्रम पनि सञ्चालन गरेको थियो। त्यस क्रममा ४०८ वटा विद्यालयमा गएर ८६ हजार ६४३ जना बालबालिकाको आँखा जाँच गरेको उनले बताए। आँखा जाँच गर्दा केही बालबालिकाको दृष्टिमा समस्या देखिएका र चस्मा लगाउनुपर्नेहरू एक हजार २८० जनालाई निःशुल्क चस्मा वितरण गरेको उनले बताए।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा दुई लाख ७६ हजार ७५९ जना आँखासम्बन्धी बिरामीले अस्पतालबाट ओपिडी सेवा लिएको अस्पतालले जनाएको छ। अस्पतालमा आँखासम्बन्धी सम्पूर्ण उपचार निरन्तर प्रवाह भइरहेको छ।
गेटा आँखा अस्पतालमा छिमेकी मुलुक भारतका विभिन्न स्थानबाट समेत आँखा उपचारका लागि बिरामी आउने गरेका छन्। अस्पतालको उपचार सेवाप्रति विश्वास हुनुका साथै गुणस्तरीय सेवा प्रवाह भएकाले पनि लामो समयदेखि आँखा उपचारको लागि भारतीय मूलका नागरिक यहाँ आउने गरेका छन्। पछिल्लो समय भने भारतको पलियालगायत स्थानमा आँखासम्बन्धी अस्पताल खुलेपछि पहिलेको तुलनामा भारतीय बिरामीको चाप केही घटेको सूचना अधिकारी जोसीले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.