अत्तरिया, ६ जेठ : नेपाल सरकारले ल्याउन लागेको शिक्षा विधेयक विरुद्ध गोदावरी नगरपालिका निजी तथा आवासीय विद्यालयहरु (प्याब्सन) ले बसमा कालो झण्डा प्रदर्शन गरेर शान्तिपूर्ण विरोध र्याली निकालेका छन् ।
नेपालका विभिन्न क्षेत्रमा जस्तै गोदावरीमा शुक्रबार निकालिएको र्याली गेटा अस्पताल देखि सुरु भई अत्तरिया, स्याउले बजार, गोदावरी, मालाखेती हुँदै पुन अत्तरिया बजार सम्म पुगेको हो ।
निजी तथा आवासीय विद्यालय (प्याब्सन) का केन्द्रीय उपाध्यक्ष जगबिर थापाले सरकारले ल्याएको शिक्षा विधेयकका केही प्रावधानप्रति आपत्ति जनाउँदै देशभर विरोध कार्यक्रम भइरहेको जानकारी दिए । सोही क्रममा गोदावरी नगरपालिकामा समेत ५२ वटा विद्यालय बसमा कालो झण्डा राखी शान्तिपूर्ण विरोध ¥याली गरिएको उनले बताए ।
थापाले कम्पनीका रूपमा दर्ता भइसकेका विद्यालयलाई गैरनाफामूलक बनाउन खोज्नु अनुचित भएको बताए । उनले “कुनै पनि कम्पनी बनेपछि नाफा–नोक्सानमा भागीदारी हुनु सामान्य कुरा हो, तर सरकारले यसलाई बेवास्ता गरेर शिक्षा ऐनमार्फत विद्यालयमाथि थप बोझ थोपर्न खोजेको छ ”, उनलृ भने ।
उनले सरकारले प्रस्ताव गरेको पूर्ण छात्रवृत्ति व्यवस्था व्यवहारिक नभएको दाबी गर्दै भने, “स्टेशनरी, ड्रेस, आवास, भर्ना शुल्क, मासिक शुल्क सबै निःशुल्क बनाउनुपर्ने भनिएको छ, तर सरकारले नै यसलाई कार्यान्वयन गर्न सकेको छैन । हाल निजी विद्यालयले १० प्रतिशतसम्म छात्रवृत्ति दिँदै आएका बताए ।
थापाले शिक्षा विधेयकका कतिपय प्रावधान शिक्षा ऐन र कम्पनी ऐन दुवैसँग विसंगत भएको दाबी गर्दै तत्काल संशोधन गर्नुपर्ने माग गरे । थापाले सरकारले बलपूर्वक यसलाई कार्यान्वयन गर्न खोजे शिक्षा क्षेत्र कमजोर हुने खतरा रहने उल्लेख गरे ।
गोदावरी प्याब्सन कमिटीका अध्यक्ष मदन जोशीले विद्यालय शिक्षा सम्बन्धी कानुन संशोधन तथा एकीकरण विधेयक–२०८० का केही प्रावधानप्रति आपत्ति जनाउँदै शिक्षा ऐन–२०२८ लाई प्रतिस्थापन गर्ने उद्देश्यले ल्याइएको उक्त विधेयकमा निजी विद्यालयविरुद्ध अन्यायपूर्ण व्यवस्था समावेश भएको बताए ।
उनले निजी विद्यालयलाई क्रमशः गैर–नाफामूलक बनाउनुपर्ने व्यवस्था हटाउन, “पूर्ण छात्रवृत्ति” भन्ने शब्दावली संशोधन गर्न, हाल कायम रहेको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिन तथा छात्रवृत्तिमा भर्ना, वार्षिक र मासिक शुल्क मात्र समावेश गर्नुपर्ने माग राखिएको जनाएका छन् ।
सम्बन्धित पाेस्टहरु