बैतडी सिगासकी अनमी जानकी पुजारा उत्कृष्ट नर्स अवार्डबाट सम्मानित

बैतडी : बैतडीको सिगास गाउँपालिका–४, कान्धार स्थित आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अनमी जानकी पुजारा उत्कृष्ट नर्स अवार्डबाट सम्मानित भएकी छन्।

स्वास्थ्य खबरपत्रिकाको १६ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित १३ औं संस्करणको हेल्थ अवार्ड कार्यक्रममा उनलाई यो सम्मान प्रदान गरिएको हो ।

पुजारा उपकरण बिनै लगातार ६ घण्टा मुखबाट कृत्रिम सास दिँदै नवजात शिशुको ज्यान बचाएको घटनापछि देशभर चर्चामा आएकी थिइन्। दुर्गम क्षेत्रमा सेवाभाव, साहस र मानवताको प्रतिकका रुपमा उनले गरेको कामकै कदर स्वरूप यो अवार्ड प्रदान गरिएको हो। हिजो सोमबार आयोजित अवार्ड कार्यक्रममा विभिन्न ९ विधामा अवार्ड प्रदान गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयनमा स्वास्थ्यखबर फाउन्डेसनले आयोजना गरेको स्वास्थ्य खबर हेल्थ अवार्ड चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, अभियान्ता र स्वास्थ्य संस्थालाई प्रदान गरिएको हो।

यस वर्षको उत्कृष्ट डाक्टरको अवार्ड कटारी अस्पतालमा कार्यरत चिकित्सक डा गौरव साह, उत्कृष्ट नर्सको रुपमा बैतडीकी अनमी जानकी पुजारा, उत्कृष्ट सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाका रुपमा सर्लाहीको सोना महतो, उत्कृष्ट स्वास्थ्यकर्मीका रुपमा कालिकोटका जनस्वास्थ्य निरीक्षक विनोदकुमार न्यौपाने र उत्कृष्ट जनस्वास्थ्यकर्मीका रुपमा पर्वतका हरि प्रसाद भुसालले अवार्ड पाएका छन्।

यसैगरी, उत्कृष्ट संस्थामा कोल्टी आधारभूत अस्पताल र आयुर्वेद तर्फ मातातिर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पताल, उत्कृष्ट स्वास्थ्य शिक्षा प्रवर्धकमा शिला श्रेष्ठ, उत्कृष्ट स्थानीय सरकारमा राप्ती गाउँपालिका र उत्कृष्ट अभियान्तामा उज्ज्वल विक्रम थापाले अवार्ड पाएका छन्।

यसका साथै अवार्ड कार्यक्रममा नेपालको स्वास्थ्य क्षेत्रमा २७ वर्षभन्दा लामो समयदेखि सहयोग गर्दै आइरहेका इन्टरप्लास्टका संस्थापक जर्मनीका हायन स्टल, अमेरिका नेपाल मेडिकल फाउन्डेसन र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पनि विशेष सम्मान गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.